महाधिवेशन प्रतिनिधिका कारण राजधानीका अधिकांश होटल भरिभराउ

NewsBankNepal Business/अर्थ ब्यापार , Latest Update , News/समाचार , ४ वर्ष अगाडि

काठमाडाैं । नेपाली कांग्रेसको १४औैँ महाधिवेशनमा सहभागी प्रतिनिधि, पर्यवेक्षक तथा शुभेच्छुकका कारण राजधानीका अधिकांश होटल भरिभराउ भएका छन् । यही मङ्सिर २४ गतदेखि काठमाडाँैमा कांग्रेसको महाधिवेश सुरु भएको छ ।

कांग्रेसले महाधिवेशन प्रतिनिधि बस्नका लागि राजधानीका तीन ठाउँमा होटलको व्यवस्था गरेको छ ।   सुन्धारा, ठमेल र गौशालामा प्रतिनिधिलाई बस्ने व्यवस्था गरिए पनि तारे होटल, पर्यटकीय होटलदेखि सामान्य होटलसमेत प्रतिनिधि, पर्यवेक्षकका साथै शुभेच्छुकले भरिएका छन् । आवास तथा भोजन समितिका संयोजक एवं कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेका अनुसार करिब चार हजार प्रतिनिधिका लागि ८६ होटल बुकिङ गरिएका छन् ।

महाधिवेशनमा सहभागी हुने आठ हजार व्यक्तिका लागि भोजनको व्यवस्था गरिएको छ ।   महाधिवेशन आयोजनास्थल भृकुटीमण्डप आसपास मात्र होइन, प्रतिनिधि बस्ने होटल आसपास पनि उम्मेदवारका प्रचार सामग्री झुण्ड्याइएका छन् । सुन्धारा, ठमेल र गौशाला क्षेत्रका बाटाबाटामा प्रचार सामग्री देख्न सकिन्छ । कोरोना महामारी जोखिम कायमै रहे पनि होटल व्यवसायीले स्वास्थ्य मापदण्डको पालना गरेर प्रतिनिधिलाई खानेबस्ने प्रबन्ध मिलाएका छन् ।

लामो सयम कोरोना महामारीका कारण समस्यामा परेका होटल व्यवसायीले महाधिवशेनका कारण थोरै भए पनि राहत महसुस गरेका छन् ।   एकता होटल व्यवसायी सङ्घका उपाध्यक्ष खेमराज उप्रेतीले ठूलो पार्टीले काठमाडौँमा महाधिवेशन गर्नु राम्रो पक्ष भएको बताउनुभयो । उहाँले काठमाडौँका तारे होटलदेखि पर्यटकस्तरीय होटल प्रतिनिधि र शुभेच्छुकका कारण भरिभराउ भएको जानकारी दिए । कोरोनाका कारण लामो समयसम्म पाहुनाविहीन बनेका व्यवसायी अहिले कोरोना केही मत्थर हुँदै गएको, पहिले जस्तै विभिन्न बैठक, भेला, सम्मेलन, गोष्ठीका साथै पार्टीका महाधिवशेन पनि हुन थालेपछि खुसी देखिएका छन् ।

सङ्घअन्तर्गत राजधानीमा करिब ४०० होटल रहेका छन् ।   अध्यक्ष उप्रेतीले सङ्घ आबद्ध कोटेश्वर, एयरपोर्ट, तिलगङ्गा, गौशाला, चाबहिल, बत्तिसपुतली, ज्ञानेश्वर, लाजिम्पाटलगायत होटल महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकका कारण खचाखच भरिएका बताउनुभयो । सो क्षेत्रका होटल अहिले शतप्रतिशत ‘अकुपेन्सी’मा चलेका छन् । “सबै होटल भरिएका छन्, कोठा खाली छैनन्, यो सुखद् पक्ष हो”, उपाध्यक्ष उप्रेतीले भने, “सबै होटलले स्वास्थ्य मापदण्ड अपनाएर सेवा प्रवाह गरेका छन् ।”