काठमाडाैं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीतर्फको मतगणना सम्पन्न भएको छ । सोमबार सम्पन्न निर्वाचनको मतगणना आज सम्पन्न भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
प्राप्त मत पछिल्लो परिणामअनुसार खसआर्य तर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर, मधेसीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव, मुस्लिमतर्फको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर, थारुतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी र पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्रीमा बद्रीप्रसाद पाण्डे निर्वाचित हुनुभएको छ ।
समितिका अनुसार राठौरले दुई हजार ५७६ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिस्पर्धी देवराज चालिसे दुई हजार ५९ मत प्राप्त गर्नुभयो । मधेसीतर्फ यादवले दुई हजार ३३० र उहाँका निकटतम प्रतिस्पर्धी रामकृष्ण यादवले एक हजार ८२० तथा अर्का प्रत्यासी रञ्जित कर्णले ४७२ मत प्राप्त गर्नभएको थियो ।
मुस्लिमतर्फ मन्सुरले दुई हजार ७७६ मत र गर्दा उहाँका निकटतम प्रतिस्पर्धी शेख वकिलले एक हजार ८७१ मत प्राप्त गर्नुभयो । यसैगरी थारुतर्फ चौधरीले दुई हजार ७६२ र उहाँका निकटतम प्रतिस्पर्धी तेजुलाल चौधरीले एक हजार ८७७ मत प्राप्त गर्नुभयो । पिछडिएको क्षेत्रतर्फ पाण्डेले दुई हजार ४११ र उहाँका निकटतम प्रतिस्पर्धी जीवनबहादुर शाहीले दुई हजार १३३ मत तथा अर्का प्रत्याशी चेतराज बजालले ९९ मत प्राप्त गर्नुभएको थियो ।
यसअघि महिलातर्फको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’, दलिततर्फको सहमहामन्त्रीमा जीवन परियार र आदिवासी÷जनजातितर्फको सहमहामन्त्रीमा भीष्मराज आङ्देम्बे निर्वाचित भइसक्नुभएको छ । समावेशीका विभिन्न आठ क्लष्टरअन्तर्गत आठ सहमहामन्त्री पदका लागि १९ जनाको उम्मेदवारी परेको थियो । कांग्रेसको महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा हालसम्म प्राप्त मतपरिणामअनुसार पदाधिकारीमध्ये सभापतिमा प्रधानमन्त्री रहनुभएका शेरबहादुर देउवा, उपसभापति दुई पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री दुई पदमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भइसक्नुभएको छ ।

