काठमाडाैं । अमेरिकाले नेपालको संसदबाट आगामी तीन महिनाभित्र पनि मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट सम्झौता अनुमोदन नभए फिर्ता लैजाने भएको छ ।
सत्ता साझेदार नेकपा माओवादी केन्द्र र नेकपा एस एमसीसी परियोजना कुनै पनि हालतमा पास हुन नदिने मनस्थितिमा पुगिरहेका बेला अमेरिकाले एकपटक तीन महिनाका लागि पर्खेको हो ।एमसीसी बोर्ड बैठककै दिन पारेर नेपालमा संसद् आह्वान भए पनि २८ मंसिरमा एमसीसीलगायतको विषय सूचीमै परेन ।
ऊर्जा र सडक पूर्वाधार निर्माणका लागि अमेरिकाले एमसीसी सम्झौता गरेको चार वर्ष पूरा भइसक्दा पनि दलहरूबीच मतभेद हुँदा संसदबाट पास हुन सकेको छैन ।तर, प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तापक्ष दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संयुक्त रूपमा एमसीसीलाई पत्र लेखेर अनुमोदन गर्ने प्रतिबद्धता जनाइ सकेका छन् ।
अमेरिकाले सडक पूर्वाधार र ऊर्जाअन्तर्गत प्रसारण लाइन निर्माणका लागि ५० करोड अमेरिकी डलर दिने सम्झौता गरेको थियो । एमसीसी अनुमोदनका लागि अमेरिकाले नेपालसँग पटकपटक आग्रह गरिसकेको छ ।अब एमसीसीको बोर्ड बैठक आगामी १७ चैतमा बस्नेछ ।

