काठमाडाैं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसभित्रको गुट अन्त्य हुनुको साटो झन् झाँगिदै गएको छ । १४ औं महाधिवेशनपछि पार्टीभित्र देखिएको विभिन्न गुट उपगुटको अन्त्य हुने दावी गरिएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय कमिटीमा राम्रालाई पाखा लगाएर हाम्रालाई समेटेको भन्दै नेता डा शेखर कोइरालाले आफू निकटका नेताहरुलाई डाकेर छलफल गरेका छन् । यद्यपि उनले आफू गुट र भागबण्डाको पक्षमा नभएको बताएका थिए । पार्टीमा आफ्नो उपस्थिति देखाउन नेता कोइराला गुटगत छलफल र भेलामा सक्रिय भएका छन् ।
महाधिवेशन लगत्तै उनले अब कांग्रेसमा गुटको अन्त्य भएको भाषण गरेका थिए । अहिले आएर कोइरालाले किन गुटको भेला गर्न थाले भन्ने चर्चा हुन थालेको छ । उनले पार्टीमा भागवण्डा र बार्गेनिङका लागि नभएर पार्टीमा भित्रिएको बिकृती विसंगतीकाविरुद्ध लडाई लडिरहेको उनी पक्षका नेताको भनाईछ ।
सभापति देउवाले गुटबन्दी गर्दै गए भने निश्चित रुपमा पाटीमा अप्ठयारो पर्न सक्ने कोइराला पक्षका नेताहरुको भनाई छ । नेपाली कांग्रेसको सभापतिमा निर्वाचित हुने निकटतम प्रतिद्वन्दीलाई वरिष्ठ नेता मान्ने प्रचलन थियो । १३ औं महाधिवेशनमा शेरबहादुर देउवासँग पराजित नेता रामचन्द्र पौडेललाई सभापति पछिको वरिष्ठ पद दियो । कोइरालाले भने केन्द्रीय समितिको वरियताका क्रममा २० औ नम्बरमा राखियो ।
पार्टीमा वरियतालाई लिएर रुष्ट बनेको कोइराला समूह केन्द्रीय समितिलाई १३ जनालाई मनोनीत गरेपछि देउवासँग आमनेसामने हुने मनस्थितिमा छ ।
कोइरालाले केहीदिन अघि यता आफू पक्षका नेताहरुलाई बोलाए छलफल प्रारम्भ गरेका छन् । केन्द्रीय सदस्यको मनोनयनमा आफ्नो समूहका एक जना पनि नपरेपछि कोइरालासँग देउवा रुष्ट बन्नु भएको छ ।
सभापति देउवाले केन्द्रीय सदस्य मनोनयन गर्दा पौडेल बाहेक अरुसबैलाई आफूलाई निर्वाचित गराउन सहयोग गर्ने नेताहरु रहेका छन् । कोइराला अहिले पार्टीमा संस्थापन इतर समूहको नेता भएका छन् । अहिले नेता रामचन्द्र पौडेलको स्थान कोइरालाले ओगटेका छन् ।

