भारतले लिपुलेकमा सडक निर्माण गरेकाेमा कांग्रेसकाे आपत्ति

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ४ वर्ष अगाडि

कांग्रेस । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले लिपुलेकमा भारतले सडक निर्माण गरेकामा त्यसको विरोध गर्नुभएको छ ।

महामन्त्रीद्वयले लिपुलेक प्रकरण उपर नेपाली कांग्रेसका सात बुँदे धारणा आज जारी गर्दै भन्नुभएको छ, “नेपाल भारत संयुक्त आयोगमा दुई देशबीचको सबै प्रश्नमा कूटनीतिक संवादबाट समाधानमा पुग्ने गरी भएको सहमति विपरीत लिपुलेकमा सडक निर्माण भनेर आएको विषय गम्भीर र आपत्तिजनक छ र अविलम्ब यो रोकिनुपर्छ ।”

नेपाल र भारतको सीमासम्बन्धी प्रश्नको समाधान ऐतिहासिक तथ्यका आधारमा उच्चस्तरीय कूटनैतिक माध्यमबाट खोजिनुपर्नेमा जोड दिँदै उहाँहरुले लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिप्रति पार्टीको ध्यानाकर्षण भएको बताउनुभएको छ ।

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भू–भाग हो भन्नेमा कांग्रेस प्रष्ट रहेको उल्लेख गर्दै वक्तव्यमा भनिएको छ, ‘यी भूगोलमा नेपालको भोगाधिकार कायम हुनुपर्दछ । कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्दछ ।’ संविधान संशोधनमार्फत संसद्ले अनुमोदन गरेको नयाँ नक्साको कार्यान्वयन हुनुपर्छ भन्ने राजनैतिक दलहरू एवं नेपाल सरकार समेतको साझा अभिमत भएको पनि उहाँहरुले स्पष्ट गर्नुभएको छ ।

सीमासम्बन्धी कुनै पनि प्रश्नको हल ऐतिहासिक तथ्यका आधारमा उच्चस्तरीय कुटनैतिक माध्यमबाट खोजिनुपर्दछ भन्नेमा कांग्रेस प्रष्ट रहेको सो वक्तव्यमा उल्लेख छ ।