मौलिक लोकबाजा प्रशिक्षण सम्पन्न

Dipak Pudasaini Entertainment/मनोरञ्जन , Latest Update , ४ वर्ष अगाडि

काठमाडौँ, २ माघ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले वागमती प्रदेशस्तरीय मौलिक लोकबाजा प्रशिक्षण सम्पन्न गरेको छ । पुष १६ देखि काठमाडौँ र ललितपुरका विभिन्न ठाउँमा १५ दिन सम्म सात वटा लोकबाजाबारे प्रशिक्षण दिइएको थियो ।
प्रशिक्षणको दौरान कम्तिमा १ सय ३५ बढी युवाले लिम्बु जातिको च्याब्रुङ, राई जातिको ढोल, तामाङ जातिको टुङ्ना र डम्फु, नेवार जातिको धिमे तथा बाँसुरी र सारङ्गी बाजा बारे प्रशिक्षण लिएका थिए । च्याब्रुङ बाजाबारे यासेली योङहाङ, ढोलमा दीपेश राई, धिमेबारे नरेश प्रजापति, तुङ्ना डम्फुमा छेवाङ तेन्जिङ लामा, बाँसुरीमा गोपालनाथ घतानी, सारङ्गीमा भरत नेपाली र तालवादनमा भरत बुढाथोकीले प्रशिक्षण दिनु भएको थियो । यस कार्यलाई प्रभावकारी बनाउन लोकबाजा सम्बद्ध सामुदायिक संस्थाहरु किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, नेपाल तामाङ घेदुङ, ज्याठा पञ्चदान गुठी प्रजापति खलसँग आवश्यक परामर्श सहित स्थानीय व्यवस्थापनका लागि सहकार्य गरिएको थियो ।


प्रशिक्षार्थीलाई लोकबाजाको परम्परागत पृष्ठभूमि र क्षेत्रिय समुदायसंगको धार्मिक, साँस्कृतिक सम्बन्ध बारे जानकारी दिने, बाजा बन्ने बनाउने र सुर मिलाउने तरिका, पुर्विय तथा पश्चिमी संगीत पारम्भिक ज्ञान, मेट्रोनममा बाध्यबादन अभ्यास सुरुवात, बाजा अनुसारको संगीत संयोजन गरि त्यसैनुसार अभ्यास, सुरताल बोल स्वरलिपिमा लेखन अभ्यास गराइएको थियो ।
संगीत संयोजनबारे जानकारी, सामुहिक बादन विधि तथा अभ्यास, ब्यावसाहिक बाध्यबादक बन्न हुनु पर्ने पुर्बधार ज्ञान, अन्य बाजाहरुसंग समिश्रण गर्ने अभ्यास तथा प्रदर्शनस, आधुनिक प्रबिधि तथा रेकर्डिङबारे जानकारी, बरिष्ठ संगीत बिज्ञहरुबाट संगीतिक अन्तरक्रिया तथा कार्यशालाको समन्वय गरि कार्यक्रम संचालन गरिएको प्रतिष्ठानका सङ्गीतविभाग प्रमुख प्राज्ञ अशोककुमार राईले बताउनु भयो ।
यसै अवसरमा पुष ३० गते राष्ट्रिय नाचघर जमलमा साङ्गीतिक प्रस्तुती सहित प्रशिक्षण समापन कार्यक्रम समेत आयोजना गरिएको थियो । कार्यक्रममा प्रशिक्षार्थीहरुले प्रशिक्षणका दौरान सिकेको आ आफ्ना आकर्षक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा साँस्कृतिक संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारीले विभिन्न कारणले नेपालको लोकसंस्कृतिको दस्तावेज तयार गर्न राज्यपक्ष पछि परेको बताएका थिए । अधिकारीले भने देशका लागी जात जतिकै संस्कृति महत्वपूर्ण हुन्छ ‘संस्कृति खरानी भए हामी बाँकी रहँदैनौँ’ ।
त्यसैगरी संस्थानका महाप्रवन्धक अशोक प्यासी राईले युवापुस्तामा सामाजिक सञ्जाल, मिडिया, सूचनाप्रविधिका कारण पश्चिमा संस्कृतिको प्रभाव बढ्दै जानुले लोकसंस्कृति संरक्षण गर्न यस्ता प्रशिक्षणले निरन्तरता पाउनुपर्ने बताएका थिए ।
प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र हस्तान्तरण गर्नु हुँदै प्राज्ञ राईले मौलिक लोकबाजालाई मूलधारको व्यवासायिक सङ्गीतसँग जोड्न, लोकसङ्गीतको स्वरलिपि तयार गरी, त्यस आधारमा लोकबाजा बजाउन सक्ने वाद्यवादकहरु तयार गर्न प्रतिष्ठानले थप प्रशिक्षणहरु सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन । साथै माघको दोस्रो हप्ताबाट सर्लाहीको हरिवनमा ढोलक तथा मादलको प्रशिक्षण सञ्चालन हुने जानकारी समेत राईले गराएका छन ।