हिमपातका कारण त्रिभुवन राजपथ लगायत प्रमुख राजमार्ग अवरूद्ध

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ४ वर्ष अगाडि

काठमाडाैं । गए रातिदेखि परेको अविरल वर्षाका कारण त्रिभुवन राजपथको सिमभञ्ज्ङ र अघोरमा बाक्लो हिउँ पर्नाले आज बिहान २ बजेदेखि हेटौँडा काठमाडौँतर्फको यातायात अवरुद्ध भएको पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ ।  

बिहीबार राति परेको हिउँ करिब छ इन्च बाक्लो भएको र पानी परिररहेकाले मौसममा सुधार नआएसम्म हिउँ पन्छाउन कठिनाइ उत्पन भएको थाहा नगरपालिकाका प्रमुख लवशेर विष्ट बताए ।   हेटौँडाबाट काठमाडौँतर्फ प्रस्थान गरेका सवारी त्रिभुवनराजपथको अघोरमा रोकिएको र आज अपराह्नसम्म मौसम सुधार भएमा हिउँ पन्छाएर यातायात सञ्चालन गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

  त्रिभुवन राजपथमा यातायात अवरुद्ध भए पनि पूर्वपश्चिम राजमार्ग र भीमफेदी–कुलेखानीतर्फ यातायात सेवा आज बिहानैदेखि सञ्चालन भइरहेको प्रवक्ता रिमालले बताउनुभयो । अहिले हेटौँडासहित जिल्लाका विभिन्न भागमा चट्याङ परिरहेको पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।  

यस्तै बाक्लो हिमपातका कारण सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । गए रातिदेखिको लगातारको बाक्लो हिमपातका कारण राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय बुडरले जनाएको छ ।   राजमार्गमा परेको हिउँ हटाउने प्रयास भइरहेको बताइएको छ । राजमार्ग अवरुद्ध भएपछि दजनौँ सवारीसाधन तथा यात्रु अहिले यहाँको गैरा तथा बुडर बजारमा रोकिएका छन् । उक्त राजमार्गअन्तर्गतको साहुखर्क, गैरा, हगुल्टेमा भारी हिमपात भएको छ ।

  यसैगरी डोटीको सिलगढी तथा अछामको साफे जोड्ने पहलमानसिंह स्वाँर राजमार्ग पनि हिमपातका कारण अवरुद्ध भएको छ । उक्त राजमार्गअन्तर्गत डोटीको चौखुट्टैमा बाक्लो हिमपात हुँदा बाजुरा, अछामबाट तराई जान आएका तथा तराईबाट पहाड जान हिँडेका सवारी तथा यात्रु बीच बाटोमै अलपत्र परेका छन् ।  

गए रातिदेखि जिल्लाका विभिन्न क्षेत्रमा भारी हिमपातका कारण चिसो बढेपछि यहाँको जनजीवन कष्टकर बनेको छ । बाक्लो हिमपातकाका कारण नागरिक घरबाहिर निस्किन सकिरहेका छैनन् ।   यहाँका खप्तड, गोलादेउ, नापानी, चर्केकोलेक, बडिकेदारथान, अल्याडी, चौरीबाज, ओखरखाली, मुस्ताल, देउताल, शिखरगाथ क्षेत्रमा बिहीबारदेखि हिमपात भइरहेको छ । यस क्षेत्रमा केही हप्ता पहिले परेको पग्लिन नपाउँदै फेरि हिउँ परेपछि चिसो बढेको हो ।  

पानीका मुहानदेखि रुखहरुमा समेत बाक्लो हिउँ जमेका कारण गाईवस्तुलाई घाँस काट्न र मानिसलाई पानी खानसमेत समस्या भएको बडिकेदार गाउँपालिका–२ का भरत बोहराले जानकारी दिए ।