राप्रपा नेपाललाई ब्यूँताउँदै कमल थापाले भने,’फेरि आफ्नै घरमा फर्किए’

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ४ वर्ष अगाडि

काठमाडाैं । राप्रपाबाट अलग भएकाे घाेषणा गरेका पूर्वअध्यक्ष कमल थापाले राप्रपा नेपाललाइ ब्यूँताएका छन् । उक्त नयाँ पार्टी घोषणा फागुन ७ गते हुने भएको छ। आइतबार विज्ञप्ति सार्वजनिक गर्दै कमल थापाले राप्रपा नेपाल घोषणा गर्ने जानकारी गराएका हुन्।

थापाले आइतबार विज्ञप्ति सार्वजनिक गर्दै राप्रपा, नेपाललाई पुनर्जागृत गर्ने निर्णय गरेको बताए। आगामी स्थानीय तहको निर्वाचनमा सहभागी हुनेसमेत अध्यक्ष थापाले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ। ‘आगामी स्थानीय तहको निर्वाचनमा हामी सक्रियताका साथ सहभागी हुनेछौँ’, अध्यक्ष थापाले विज्ञप्तिमा भनेका छन्, ‘राप्रपा नेपालको घोषणासभा २०७८ साल फागुन ७ गते काठमाडौंमा हुनेछ।’

थापाले केही समयको अलमलपछि फेरि आफ्नै घरमा फर्किएको दाबी गरे। ‘देशको धरातलीय यथार्थ एवम् सहयोगी तथा शुभचिन्तक साथीहरुको सुझावलाई मध्यनजर राख्दै हामीले राप्रपा नेपाललाई पुनर्जागृत गर्ने निर्णय गरेका छौँ’, अध्यक्ष थापाले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा भनिएको छ,‘केही समयको अलमलपछि फेरि हामी आफ्नो घर फर्केका छौँ।’

राप्रपा नेपाललाई जीवन्त तुल्याउने नेता लाक्पा तामाङलाई धन्यवाद दिए। थापाले पाँच वर्षपछि आफूहरुलाई नियतले सही ठाउँमा पुर्याएको दाबीसमेत गरे। विज्ञप्तिमा विगतका गल्ती र कमजोरीबाट पाठ सिक्दै एक पटक गन्तव्यतर्फ अग्रसर भएको उल्लेख गरे। ‘विगतका त्रुटी, कमजोरीबाट पाठ सिकेर तथा गल्तीहरु सच्याएर फेरि एकपटक आफ्नो गन्तव्यतर्फ अग्रसर रहने अवसर हामीले पाएका छौँ’, थापाले भनेका छन्।