राष्ट्रिय जनमोर्चा सत्ता गठबन्धनबाट बाहिरियो

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाडाैं । राष्ट्रिय जनमोर्चा(राजमो) पाँचदलीय सत्तारुढ गठबन्धनबाट अलग भएको छ ।
सोमबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले गठबन्धनबाट बाहिरिने निर्णय गरेको हो । आइतबार प्रतिनिधिसभाबाट एमसीसी सम्झौता अनुमोदन भएकोमा असन्तुष्टि जनाउँदै गठबन्धनबाट बाहिरिएको हो ।

बैठकपछि अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी प्रेस विज्ञप्तिमा संसद्बाट षड्यन्त्रमूलत तरिकाले एमसीसी पास गरी देशको सार्वभौमिकता र अखण्डतामाथि आँच पुर्‍याएको उल्लेख छ ।

गठबन्धनका ४ पार्टीले एमसीसी पास गर्दै साम्राज्यवादीको दलाली र पृष्ठपोषण गरेकाले गठबन्धनको औचित्य समाप्त भएको पनि केसीले बताएका छन् ।

त्यस्तै एमसीसी अनुमोदन गर्दा मतविभाजन नगरी ध्वनि मतको सहारा लिएकोमा पनि राजमोको आपत्ति छ ।

एमसीसी सम्झौतासँगै व्याख्यात्मक घोषणा पारित भए पनि त्यसलाई राजमोले औचित्यहीन बताएको छ । माओवादी र एकीकृत समाजवादीले व्याख्यात्मक प्रस्तावमा कथित सहमति जनाउने कुरा आफ्ना कार्यकर्ताहरूको एमसीसीविरुद्धको आक्रोशलाई मत्थर पार्न गरेको नौटङ्की मात्र भएको पनि राजमोको आरोप छ ।