दुई हप्तादेखिका षडयन्त्र एकै चुड्कीमा समाप्त पार्‍यौं :अध्यक्ष नेपाल

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसिसी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन भएसँगै यससम्बन्धीको आशङ्का हटेको बताएका छन्। एमसिसी अनुमोदनसँगै उठेका आशङ्कामाथि प्रस्ट्याउन आज आयोजित पत्रकार सम्मेलनमा उनले एमसिसीसम्बन्धी व्याख्यात्मक घोषणापछि आफ्नो पार्टी एमसिसीको पक्षमा उभिएको बताएका हुन् ।  

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेपालले संविधान र संसद्को सर्वोच्चता कायम तथा विधिको शासन स्थापित गर्न गठबन्धनमा आबद्ध दलहरु एमसिसीका सन्दर्भमा जनमानसमा देखिएका आशङ्का निवारण गर्ने गरी व्याख्यात्मक घोषणासहित सम्झौतालाई अनुमोदन गर्ने निर्णयमा पुगिएको बताए ।   “एमसिसीका सम्बन्धमा स्पष्ट भएर अगाडि जानुपर्छ भनेर पार्टीले संस्थागत निर्णय गरेको हो । त्यसलाई प्रस्ट पार्नका लागि १२ बुँदे व्याख्यात्मक घोषणा आएपछि मात्र यसमा विश्वास गर्ने आधार बनेको हो । अहिले जनता पनि प्रस्ट भएका छन्, जनताको भावनाको प्रतिनिधित्व गर्ने पार्टी एकीकृत समाजवादी हो”, उनले भने ।

  अध्यक्ष नेपालले एमसिसी सम्झौताका कतिपय शङ्का र दोहोरो अर्थ लाग्ने विषयका बारेमा स्पष्ट निरुपण नगरी यथास्थितिमा अनुमोदन गरिनु हुँदैन भनेर आफ्नो पार्टीले दृढ अडान लिएका कारण व्याख्यात्मक घोषणासहित एमसिसी सम्झौता संसद्बाट अनुमोदन हुने अवस्थामा सिर्जना भएको बताउनुभयो । व्याख्यातमक घोषणाप्रति आलोचना गर्नेलाई उनले अन्तर्राष्ट्रिय कानूनसम्बन्धी ज्ञान नभएको भनी टिप्पणी गरे ।

  नेपालका छिमेकी तथा मित्र राष्ट्रसँगको सहकार्य गर्दै मुलुकलाई समृद्ध बनाइने उनको भनाइ छ । “सबै मित्र राष्ट्रसँग मैत्रीपूर्ण सम्बन्ध राख्न चाहन्छौँ, उनीहरुको सहयोग लिएर मुलुकको विकास गर्न चाहन्छौँ”, उनले भने । व्याख्यात्मक घोषणासहित एमसिसी अनुमोदन भएसँगै मुलुक अगाडि बढेको उल्लेख गर्दै उनले आफूहरुलाई निमिट्यान्न पार्ने षडयन्त्र चकनाचुर भएको बताए ।

  “पछिल्ला दुई हप्तादेखिका षडयन्त्र एकै चुड्कीमा समाप्त भएका छन्, फागुन १ गते हाम्रो पार्टीको अस्तित्वलाई समाप्त पार्ने षडयन्त्र रचिएको थियो”, अध्यक्ष नेपालले भने, “ तर ती षडयन्त्र सफल हुन सकेन ।”