घोडेजात्रा पर्व मनाइँदै,उपत्यकामा सार्वजनिक विदा

NewsBankNepal Banner Headline with Image , Latest Update , News/समाचार , ३ वर्ष अगाडि

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औंसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ। टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको जनविश्वास थियो।

पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे। राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो।

यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो।

साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ। यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास राजधानीवासीमा छ। आज घोडेजात्राको अवसरमा उपत्यकामा मात्र सार्वजनिक विदा दिइएको छ ।