काठमाडाैं । स्थानीय तहको निर्वाचन आउन अब दुई दिन मात्र बाँकी छ । गएरातिदेखि मौन अवधि सुरु भएसँगै निर्वाचन प्रचारप्रसारको कार्य सकिएको छ । दलहरुको गतिबिधि बन्द हुँदा आयोग भने जुर्मुराएको छ ।
तोकिएको मतदान केन्द्रमा निर्वाचन अधिकृतहरुसँगै आवश्यक मतपत्र पु¥याइसकिएको छ ।सम्पूर्ण तयारी पूरा भइसकेको आयोगले जनाएको छ । निर्वाचनमा सहभागि हुन मतदाता आतुर देखिन्छन् ।
विभिन्न कामले उपत्यकामा रहेका नागरिक निर्वाचनका लागि जिल्ला फर्कने क्रम आज पनि विहानैदेखि जारी रहेको छ । अहिले भने १० देखि १५ हजार बढी बाहिरिएका छन् ।कतिपय उम्मेदवार तथा दलका प्रतिनिधिले नै गाडी रिजर्व गरेर मतदातालाइ गाउँ पुर्याएका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयअनुसार विगत केही दिनदेखि उपत्यकाबाट जिल्ला फर्कने मानिस बढेका छन् । अबको दुई दिन यो क्रम अझै बढ्ने छ ।काठमाण्डौका मुख्य नाका कलंकी–नागढुंगा र कोटेश्वर – जडिबुटी सडकखण्डामा सवारी चाप बढेकाे छ ।
ट्राफिक प्रहरीका अनुसार अहिले दैनिक काठमाडौँ आउनेभन्दा बाहिरिने बढिरहेका छन् ।यो क्रम वैशाख लागेदेखि नै सुरु भएको र हाल झनै बढिरहेको छ । औषतमा दैनिक १० देखि १५ हजार मानिसले उपत्यका छाडिरहेका छन् ।
यसपालि निर्वाचनको माहोल बढी नै तातेको छ । यसपालि निर्वाचनमा एक करोड, ७७ लाख ३३ हजार ७२३ मतदाता कायम भएका छन् ।
मुलुकका ७५३ स्थानीय तहको निर्वाचनमा कूल १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएको छ । मंगलबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ । अन्तर्राष्ट्रिय सीमानाकासमेत बन्द भएको छ ।

