दाहालले भने, “जसको सहयोगमा दुईदुई पटक प्रधानमन्त्री बन्यो, उसैलाई अर्काको वैशाखी टेकेको भनेर टिप्पणी गर्न मिल्छ?

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , २ वर्ष अगाडि

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्रको सम्बद्र्धन एवम् उन्नयन गर्ने विषयलाई सरकारको नीति तथा कार्यक्रममार्फत सम्बोधन गरिएको बताएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै उनले नीति कार्यक्रममा अपुग भएका विषयलाई प्रधानमन्त्रीले सम्बोधनका क्रममा समेट्नुहुने विश्वास व्यक्त गरे । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते सरकारको आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । 

राजनीतिक दलकाबीचमा साझा धारणा निर्माण गरी सहकार्यको वातावरण बनाउनुपर्नेमा जोड दिँदै उनले राष्ट्रिय समस्या समाधानका लागि पनि सबै राजनीतिक दलबीच एकता हुनुपर्नेमा जोड दिए । एक अर्कालाई दोषारोपण गरेर मात्रै समस्याको समाधान नहुने उल्लेख गर्दै उनले मुलुकको समस्या समाधानका लागि साझा प्रयास, संकल्प आवश्यक रहेको उल्लेख गरे । 

“देशको विद्यमान समस्या समाधान गर्नका लागि एकै ठाँउमा उभिनुपर्ने बेला राजनीतिक दल एक आपसमा घोचपेच गर्ने, दोषारोपण गर्नेतर्फ लागेकामा मलाई चिन्ता लागेको छ”, पूर्वप्रधानमन्त्री दाहालले भने, “स्थानीय तहको निर्वाचनमा कुन राजनीतिक दलको सिट कति बढ्यो वा घट्यो भन्दा पनि संविधान कार्यान्वयनको प्रक्रिया अगाडि बढ्यो वा बढेन भन्ने विषय नै यतिबेलाको प्रमुख विषय हो ।” सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कार्यान्वयन गर्ने सन्दर्भमा स्थानीय तहको निर्वाचनले संविधान मिच्न चाहने प्रवृत्तिलाई राम्रो जवाफ दिएको उल्लेख गर्दै उनले संघर्ष र बलिदानबाट प्राप्त भएको उपलब्धिलाई जोगाउन जुनस्तरको तत्परता देखाप¥यो त्यसले सहज वातावरण बनाएको बताए ।

उनले स्थानीय तहको निर्वाचन एकै चरणमा नै सफल बनाउन लाग्ने सरकार, राजनीतिक दल, मतदाता एवम् सबै वर्ग, समूह तथा नागरिक समाजलाई धन्यवाद दिए । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र आन्तरिक रुपमा लज्जास्पद हार भएको संश्लेषण गर्ने, अनि संसद्मा आएर सरकार र गठबन्धनले जबरजस्ती ग¥यो भनेर गरेको टिप्पणी तर्कसंगत नभएको अध्यक्ष दाहालको भनाइ छ । मतगणना सम्पन्न हुँदै गएपछि सरकारलाई धारे हात लगाउनुको कुनै पनि अर्थ नभएको उनको भनाइ छ ।

 संविधान निर्माण भएपछि राजनीतिक स्थायित्व होओस् भनेर वामगठबन्धन हुँदै एउटै कम्युनिष्ट पार्टी बनाउने पहलकदमी लिएको तथ्य पेश गर्दै उहाँले झण्डै दुईतिहाई जनमत प्राप्त भएको पार्टीलाई के कारणले बचाउन सकिएन भन्ने प्रश्नको जवाफ इतिहासले खोज्ने बताए । अध्यक्ष दाहालले भने, “जसको सहयोगमा दुईदुई पटक प्रधानमन्त्री बन्यो, उसैलाई अर्काको वैशाखी टेकेको भनेर टिप्पणी गर्न कसरी सुहाउँछ ।

अघिल्लो सरकार एमालेको थियो भनेर कसरी भन्न सकिन्छ ।” माओवादी केन्द्रको सहयोगमा नै उहाँ (केपी ओली) दुईदुई पटक प्रधानमन्त्री बन्नुभएको तथ्य नबिर्सन आग्रह गर्दै अध्यक्ष दाहालले भने, “तपाईं माओवादी केन्द्रको वैशाखी टेकेर नै दुईदुई पटक प्रधानमन्त्री बन्नुभएको होइन ?” प्रतिपक्षी दलका नेता दम्भ, अहंकारबाट पछि हट्न नसकेको आफूले पाएको उल्लेख गर्दै उनले आजको परिस्थिति कसले बनायो ? त्यसको जिम्मेवारी कसले लिने भनी प्रश्न गरे । एउटा शक्तिका साथ माओवादी एमाले अध्यक्ष ओलीसँग बहस गर्न तयार रहेको उल्लेख गर्दै उनले सरकारको नीति तथा कार्यक्रममाथि उहाँ (ओली)ले गरेको टिप्पणीमा नै विरोधाभाष रहेको बताए।

“नीति कार्यक्रम गतिहीन छ भनेर पनि भन्ने, अनि एमाले सरकारले ल्याएको नीति कार्यक्रम सारेर ल्याइयो पनि भन्ने ? प्रतिपक्ष दलको नेताले राख्नुभएको विषय विरोधाभाष छैन र ?”, उनले भने । शान्ति प्रक्रिया र संविधानसभामार्फत अगाडि बढेको राजनीतिक प्रक्रियामा आफूहरु सहभागी हुँदै आइरहेको तथ्य पेश गर्दै उनले शान्ति सम्झौतालाई अपमान गर्ने काम कोही कसैले पनि गर्न नहुने बताए । 

“एकले अर्कोलाई अपमानित गर्ने, निषेध गर्ने तरिकाले लियौँ भने यो राजनीतिक प्रणालीमार्फत नेपाली जनतालाई दिन खोजेको कुरा दिन नसकिँदैन”, उहाँले भन्नुभयो । तत्कालीन नेकपाको सरकार र पार्टीभित्र हुनथालेको जनविरोधी गतिविधिका विरुद्ध आफूहरुले प्रश्न उठाएको तथ्य पेश गर्दै अध्यक्ष दाहालले भने, “विगतमा सरकारको नीति तथा कार्यक्रम जनपक्षीय भएन भनेर टिप्पणी गरिएको, नेकपाकै सांसदले प्रश्न उठाउनुभएको होइन ? जनताको पक्षमा नभएको भनिएको होइन ? निर्वाचनका बेला जारी गरिएको घोषणापत्रअनुसार बजेट र नीति कार्यक्रम आए त ?” संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर, पार्टीभित्र भएको विवादलाई समाधान नगरेर जनप्रतिनिधिमूलक संस्थाको विघटन गरिएको होइन ? भन्ने प्रश्न गर्दै अध्यक्ष दाहालले भने, “पार्टीभित्रको विवाद समाधान गर्न नसकेर संसद् विघटन गर्न पाइन्छ ?” नेकपाभित्र चलेको वैचारिक बहसलाई विधिसम्मत तरिकाले हल गरिएको भए मुलुकले यो अवस्था व्यहोर्नु नपर्ने उनको भनाइ थियो ।

 संविधान र मुलुकलाई दुर्घटनामा जानबाट रोक्ने उद्देश्यले वर्तमान गठबन्धन बनेको उल्लेख गर्दै उहाँले गठबन्धनलाई बलियो बनाउने र प्रतिगामीलाई निर्वाचनमार्फत पररास्त गर्न जनतासमक्ष गरिएको अपिल धम्कीका रुपमा लिन नहुने बताए ।

देश, जनताको आवश्यकतालाई सम्बोधन गर्न, मूल्यवृद्धि तथा आर्थिक संकट समाधान गर्न सबै वर्ग तथा क्षेत्र र राजनीतिक दलले सहकार्य गर्नुपर्ने आवश्यकता औँल्याए । उहाँले काठमाडौँको प्रमुख र धरानको प्रमुख साँचो अर्थमा स्वतन्त्ररुपमा स्थानीय तहको निर्वाचनमा सफल भएको बताए ।