संघीयतालाई कमजोर पारेर उल्ट्याउन खोज्ने प्रवृत्ति कायमै:प्रचण्ड

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , २ वर्ष अगाडि

काठमाडाैं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त उपलब्धीलाई मन नपराउने प्रवृत्ति कर्मचारी प्रशासनभित्र पनि रहेको टिप्पणी गर्नुभएको छ । जनताका पक्षमा राजनीतिक नेतृत्वले गरेका कामलाई प्रभावकारीरुपमा कार्यान्वयन हुन नदिने तथा त्यसको मर्मलाई आत्मसात् गर्न नचाहने प्रवृत्तिकाविरुद्ध कर्मचारीले नै सकारात्मक हस्तक्षेप गर्नुपर्ने उहाँको भनाइ छ ।

नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको केन्द्रीय समिति बैठकलाई आज यहाँ सम्बोधन गर्दै अध्यक्ष दाहालले कर्मचारीतन्त्रको यस्तो प्रवृत्तिलाई निरत्साहित गर्न कर्मचारीभित्रै अभियान चलाउनुपर्ने र सशक्त प्रतिवाद गर्नुपर्ने बताउनुभयो । परिवर्तन संस्थागत गर्ने सङ्घर्षमा हामी सबैको साझा प्रयास र सङ्कल्प आवश्यक रहेको उहाँको भनाइ छ ।

विगतमा विभिन्न कारणले फरकफरक कित्तामा रहेका पूर्वमाओवादी क्रमशः एक ठाँउमा उभिने वातावरण बन्दै गएकामा अध्यक्ष दाहालले प्रसन्नता व्यक्त गर्नुभयो । त्यस अभियानलाई क्रमशः सफलतामा पुग्ने वातावरण सिर्जना भएको तथा त्यसले विस्तारै सफलता हासिल गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

पार्टी टुटफुट हुँदा विभिन्न समूहमा विभक्त भएका पूर्वमाओवादी क्रमशः एकीकृतरुपमा अगाडि बढ्ने वातावरण कर्मचारी सङ्गठनमा पनि बनेकामा अध्यक्ष दाहालले खुसी व्यक्त गर्नुभयो । सङ्घीय निजामति विधेयकलाई कर्मचारीकै माथिल्लो तहबाट अवरोध भएको भन्ने सूचना आफूले प्राप्त गरेको भन्दै उहाँले त्यस प्रवृत्तिका विरुद्ध दबाव दिन कर्मचारीलाई अनुरोध गर्नुभयो ।

अध्यक्ष दाहालले सङ्गठन निर्माण गर्दै त्यसलाई गतिशील बनाउन आग्रह गर्नुभयो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले कर्मचारी प्रशासनभित्र देखिएको समस्या समाधान गर्न पार्टी लागिपरेको बताउनुभयो । भुसाल कर्मचारी महासङ्घको ‘फ्याक्सन इञ्चार्ज’ समेत हुनुहुन्छ ।