आन्तरिक उडान नियमितरूपमा सञ्चालन गर्न एयरलाइन्स कम्पनी सहमत

NewsBankNepal Banner Headline with Image , Business/अर्थ ब्यापार , Latest Update , News/समाचार , २ वर्ष अगाडि

काठमाडाैं । आन्तरिक उडान नियमितरूपमा सञ्चालन गर्न एयरलाइन्स कम्पनी सहमत भएका छन् । आजदेखि आन्तरिक उडान बन्द गर्ने घोषणा गरेका एयरलाइन्स कम्पनीले गए राति भएको वार्तापछि उडान नियमित गर्ने सहमति भएको हो ।

 आन्तरिक उडानका एयरलाइन्सले आज बिहानैदेखि उडान सञ्चालन गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बिहानैदेखि नियमित उडान भइरहेको जानकारी दिए । 

बुद्धएयरले हिजै आफ्नो नियमित उडान गर्ने निर्णय गरेको थियो । बुद्धबाहेकका अन्य एयरलाइन्सले वार्तापछि उडान सञ्चालन गर्न सहमत भएका थिए । 

अन्य मागका सम्बन्मा आज पुनः वार्ता गरेर टुङ्गोमा पुग्ने जनाइएको छ । प्रधानमन्त्री कार्यालयको पहलमा गृह मन्त्रालय, प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहितका उच्च पदाधिकारी र सङ्घका अध्यक्ष क्याप्टेन रामेश्वर थापालगायतको वायुसेवा सञ्चालकहरूको टोलीबीच गए राति वार्ता भएको थियो । 

आज मध्याह्न पुनः वार्तामा बसी अन्य मागका विषयमा टुङगो लगाइने बताइएको छ । प्राधिकरणले यही असार ५ गते गरेको निर्णय फिर्तालिनुपर्ने माग गर्दै सङ्घले पत्रकार सम्मेलन गरेर उडान बन्द गर्ने चेतावनी दिएको थियो ।

लगत्तै प्राधिकरणले पत्रकार सम्मेलन गरेर अत्यावश्यक हवाई सेवा बन्द नगर्न चेतावनी दिँदै उडान बन्द गरेर जनतालाई समस्यामा पारे प्राधिकरण चुप लागेर नबस्ने स्पष्ट पारेको थियो ।