‘योगदानकर्ता सापटी निर्देशिका २०७९’ स्वीकृत, योगदानकर्ताले घर तथा शैक्षिक सापटी पाउने

Dipak Pudasaini Banner Headline with Image , Business/अर्थ ब्यापार , Education , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ४ वर्ष अगाडि

कठमाण्डौ, २ श्राबण । सामाजिक सुरक्षा कोषमा योगदान गरेकाहरुले अब घर तथा शैक्षिक सापटी पाउने भएका छन । हिजो श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सामाजिक सुरक्षा कोषमा योगदान गरेकाहरुमा लक्षित गर्दै ‘योगदानकर्ता सापटी निर्देशिका २०७९’ स्वीकृत गरे पछी योगदानकर्ताहरुले यस्तो सापटी पाउने भएका हुन ।

सामाजिक सुरक्षा योजनलाई थप आकर्षित बनाउने गरी नयाँ सुविधा थप गरिएको कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले बताउनु भएको छ ।
ज्ञवालीका अनुसार योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ को दफा ३२ को उपदफा १ को खण्ड ट तथा नेपाल सरकारले स्वीकृत गरेको सामाजिक सुरक्षा कोष लगानी कार्यविधि २०७७ को व्यवस्थाबमोजिम उक्त निर्देशिका तयार पारिएको हो ।
निर्देशिका अनुसार ‘योगदानकर्ता घर सापटी’अन्तर्गत नयाँ घर निर्माण, आफ्नो स्वामित्वमा रहेको घरको तला थप्न, मर्मत गर्न, संयुक्त आवासमा युनिट खरिद गर्न र घर खरिद गर्ने कार्यमा कोषले सापटी दिने छ ।

कम्तिमा ३६ महिना योगदान रकम जम्मा गरेका, उमेर र सेवा अवधीको आधारमा अवकाश हुन कम्तिमा दुई वर्ष बाँकी रहेका योगदानकर्तालाई सापटी प्रदान गरिने पनि निर्देशिकामा जनाइएको छ ।

घर सापटी स्वीकृत गर्दा धितो मूल्याङ्कनबाट कायम भएको रकममा नबढ्ने गरी रकम स्वीकृत हुनेछ । त्यसका लागि तीन प्रकारका विधिबाट जुन विधिमा रकम कम हुन्छ, त्यसअनुसार सापटी दिइने छ ।
पहिलो विधिअनुसार, धितोका आधारमा ७५ लाख रुपैयाँ, दोस्रोमा योगदानकर्ताको १५ वर्षको तलब र तेस्रोमा योगदानकर्ता ६० वर्ष उमेर पुग्न बाँकी अवधिको तलब रहेको छ ।

त्यस्तै, योगदानकर्ताको लागी शैक्षिक सापटीको व्यवस्था पनि उक्त निर्देशिकाले गरेको छ । कोषमा कम्तिमा ३६ महिना योगदान रकम जम्मा गरेका र उमेर वा सेवा अवधिको आधारमा अनिवार्य अवकास हुन कम्तिमा दुई वर्ष बाँकी रहेका योगदानकर्ताको हकमा शैक्षिक सापटीको व्यवस्था गरिएको छ ।

त्यस्तो सापटी योगदानकर्ता वा निजका पति, पत्नी, छोरा, छोरीलाई स्वदेश वा विदेशका शैक्षिक संस्थामा उच्च शिक्षा अध्ययन प्रयोजनका लागि सापटी प्रदान गर्न सकिने उल्लेख छ । त्यस्तो रकम ३५ लाख रुपैयाँ वा सम्बन्धित शिक्षण संस्थामा लाग्ने वास्तविक खर्चमध्ये कम हुने रकम दिइने छ । विद्यार्थीको भर्ना शुल्क, मासिक, परीक्षा, होस्टेल वा आवास खर्च, सम्बन्धित शिक्षण संस्थाले तोकेको अन्य शुल््क, शैक्षिक सामग्री खर्च, ट्राभल तथा बीमा खर्च उक्त सापटीमा रहने छ ।

कोषले यसै महिनादेखि सामाजिक सुरक्षा कोषमा ३६ महिना नियमित योगदान गरेका योगदानकर्तालाई अनलाइन विधिबाट सेवा प्रवाह प्रारम्भ गरिने पनि ज्ञवालीले बताउनु भएको छ ।