काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले फोहोर भित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन नदिएको दाबी गर्नुभएको छ ।
शनिबार काठमाडौंको बंघ इन्द्रचोक र ऐतिहासिक बंघ दबूको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री श्रेष्ठले सो कुरा बताउनुभएको हो ।
फोहोरमैला सामान्य कुरा भए पनि फोहोरमैला भित्रकै गिरोहले यसलाई ठूलो कुरा बनाइरहेको उहाँको भनाइ छ ।
मन्त्री श्रेष्ठले भन्नुभयो, ‘‘फोहोरमैलाको कुराहरु अहिले लामै कथा भइसकेको छ । सामान्य कुरा हो तर, हामीले त्यसलाई अहिलेसम्म पनि समाधान गर्न सकेका छैनौँ । फोहोरमैला भित्रको गिरोहले फोहोरमैला समाधान गर्न दिँदैन । फोहोरमैला समाधान गर्नको लागि ठूलो कुरा होइन, तर यहाँ भित्रको गिरोहले ठूलो कुरा बनाएको छ ।’’
स्थानीय तहले नै अब फोहोरमैलालाई श्रोतबाट नै व्यवस्थापन गर्नेतर्फ लाग्नुपर्ने उहाँले बताउनुभयो ।
मन्त्री श्रेष्ठले स्थानीय सरकारलाई फोहोरमैला व्यवस्थापन गर्ने कुरामा सङ्घीय सरकार सहयोगका लागि तयार रहेको बताउनुभयो । पर्यटन मन्त्रालयले यी समस्या समाधानका लागि मठमन्दिरहरुमा सरसफाई गर्न राष्ट्रिय अभियान शुरु गर्न लागेको उहाँ बताउनुहुन्छ ।
सरसफाईको योजना पूरा गर्न संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय आवश्यक रहेको उहाँले औंल्याउनुभयो ।
मन्त्री श्रेष्ठले नाइट टूरिजम व्यवस्थित बनाउन पर्यटकीय स्थल, मठमन्दिर र सम्पदालाई सुन्दर र संरक्षित बनाउँदै सुरक्षित बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
मन्त्री श्रेष्ठले कतिपय नागरिकलाई प्रदेश र स्थानीय सरकार बलियो छ भन्ने कुरा अहिलेसम्म पनि बुझाउन नसकेको बताउनुभयो । सिंहदरबारबाट स्थानीय र प्रदेशमा अधिकार सरिसकेको कुरा नागरिकले बुझाउन आवश्यक रहेको उहाँको भनाइ छ ।
उहाँ स्थानीय जनसमुदायको पनि सक्रियतामा कमी भएकोले यसलाई जगाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
त्यस्तै, कार्यक्रममा बोल्नुहुँदै बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारसँग पैसा खर्च गर्न नसकेर फ्रिज भएको अवस्था रहेको भन्दै विकासका लागि बजेट माग गर्न आग्रह गर्नुभयो । उहाँले मन्त्रालयले विकासका लागि आवश्यक बजेट दिन तयार रहेको बताउनुभयो । मन्त्री जम्कट्टेलले योजना लिएर आउने युवाहरुलाई विकासका काम गर्न पैसाका चिन्ता नगर्न आग्रह गर्नुभयो ।
मन्त्री जम्कट्टेलले विकासको काममा आउने युवालाई पार्टीको नजरले हेर्न नहुने धारणा राख्नुभयो । काठमाडौंको विकासका लागि नयाँ ढङ्गले बहस गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।