काठमाडाैंकाे धर्मस्थलीमा एकै परिवारका ४ जनाकाे शव फेला

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ४ वर्ष अगाडि

काठमाडौंको तारकेश्वर नगरपालिका–२ धर्मस्थलीस्थित भीमसेन टोलमा एकै परिवारको चारजनाको विभत्स अवस्थामा शव फेला परेको छ ।सोमबार बिहान श्रीमान दिनेश पाण्डे, श्रीमती सुनीता काप्री पाण्डे, उनका छोरा आशिक र छोरी आशिकाको शव विभत्स अवस्थामा फेला परेको हो ।

अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरुका अनुसार दिनेशले श्रीमती र छोराछोरीको हत्या गरेर आत्महत्या गरेको आशंका गरिएको छ । घटनास्थलमा ‘सुसाइड नोट’ पनि भेटिएको छ ।दिनेश करिव १२ वर्ष कुवेतमा बसेर साढे ४ वर्षअघि मात्र नेपाल फर्किएका थिए । उनले इलेक्ट्रोनिक्ससम्बन्धी काम गर्थे भने सुनिता फेन्सी पसल चलाउँथिन् ।

पछिल्लो समय भने सुनिता बेलायत जाने तयारीमा थिइन् । पारिवारिक झगडाकै कारण दिनेशले श्रीमती र छोराछोरीको हत्या गरेर आत्महत्या गरेको आशंका घटनाको अनुसन्धान गरिरहेका प्रहरी अधिकृतहरुले गरेका छन् ।

दिनेश र सुनिताबीच पछिल्लो समय विवाद हुने गरेको थियो । प्रहरीको बलाजु वृत्तसम्म घटना पुगेको थियो । स्थानीयले पनि मिलाउने प्रयास गरेका थिए । तर विवाद नमिलेपछि दिनेशले सम्बन्धविच्छेद मागेका थिए ।सुनिताले भने छोराछोरीका लागि भएपनि सम्बन्धविच्छेद नगर्ने बताएकी उनीहरुलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।

बिहान विद्यालयको गाडी लिन आएको बेला कोही पनि बाहिर ननिस्किएपछि घटनाको रहस्य सार्वजनिक भएको हो ।विद्यालयको गाडीले हर्न बजाउदा बाहिर कोही पनि ननिस्किएपछि छिमेकीले मूल ढोका ढकढक्याए तर कसैले पनि ढोका नखोलेपछि छिमेकीले प्रहरीले खबर गरेका थिए । प्रहरी आएर ढोका खोल्दा चारजानको शव विभत्स अवस्थामा फेला परेको जनाइएकाे छ। प्रहरीले घटनाबारे थप अनुसन्धान थालेकाे छ ।