घरघडेरी बेचेर उपचार गर्छु भन्न पनि मिल्ने अवस्था छैन:ओली

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो र श्रीमतीको नाममा रहेको सबै श्रीसम्पत्ति मरणोपरान्त राज्यको नाममा समर्पित गरिसकेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा सम्मेलन कार्यक्रममा उनले सो जानकारी गराएका हुन् । आफूजस्तै अन्य नेतालाई पनि सबै श्रीसम्पत्ति राज्यको नाममा समर्पित गर्न उनले सुझाव दिए।

आफूसँग स्वास्थ्योपचारका लागि समेत पैसा नभएको उनले बताए। “आफ्नो र श्रीमतीको नाममा रहेको सबै सम्पत्ति मरणोपरान्त राज्यको नाममा समर्पित गरिसकेको छु” उनले भने, “घरघडेरी बेचेर उपचार गर्छु भन्न पनि मिल्ने अवस्था छैन, देशको लागि सम्पत्ति दान गरेको हुँ ।” देशको विकासका लागि काम गर्दा बिरोधीहरुले काम गर्न नदिएको पनि उनले टिप्पणी गरे । देश विकास र समृद्ध बनाउने अभियानमा अघि बढिरहने पनि उनले प्रतिवद्धता बताए ।

अध्यक्ष ओलीले आफू युवाभन्दा कम सक्रिय नरहेको दाबी गरे। उनले भने, “भ्रष्टाचार गर्दिन, गर्न दिन्न भन्नेमात्र होइन, मैले आफ्नो प्राइभेट प्रपर्टी, मेरो, मेरो श्रीमतीको सम्पूर्ण सम्पत्ति आफ्नो होइन अब राज्यको सम्पत्ति भनेर पास गरिसकेको छु ।”

आफू बाचुन्जेल मात्र आफ्नो घरमा आफू र श्रीमती बस्न पाउने उहाँले चर्चा गर्नुभयो । “हामी बाँचुन्जेल घरमा बस्छौं, मरेपछि राज्यको हुन्छ” अध्यक्ष ओलीले थप्नुभयो, “जबसम्म म जीवित रहन्छु देशका लागि जनताका लागि रहन्छु ।”अध्यक्ष ओलीले राजनीतिक दलले युवालाई महत्व नदिएको भन्ने कुरा सत्य नरहेको बताए । एमालेले काठमाडौं महानगरपालिकामा २९ वर्षको उपमेयर बनाएको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले अन्य पार्टीलाई २९ वर्षका युवालाई उम्मेदवार बनाउने हिम्मत गरेर देखाउन चुनौती पनि दिए । देशमा हिंसा सिर्जना भएका कारण युवाहरु परिवार पाल्न विदेश जानुपरेको उनले सुनाए ।