काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महासचिवसहित २१ सदस्यीय पदाधिकारीको नाम प्रस्ताव गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा शनिबार बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष दाहालले महासचिवमा देव गुरुङसहित २१ सदस्यीय पदाधिकारीको नाम प्रस्ताव गरेका हुन्।पार्टी महाधिवेशन भएको ८ महिनापछि अध्यक्ष दाहालले पदाधिकारीकाे नाम टुंगाे लगाएका हुन् ।
यसअघि महासचिवमा जनार्दन शर्मा र वर्षमान पुनकाे चर्चा चलेकाे थियाे । दुबैले दावी नछाडेपछि अध्यक्षले तेस्राे व्यक्तिलाई महासचिवमा प्रस्ताव गरेका हुन् ।
यस्तै, दाहालको प्रस्तावअनुसार वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा रहेका छन् । उपमहासचिवमा हरिबोल गजुरेल, जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, मात्रिका यादव र शक्ति बस्नेत छन् ।
गणेश साह, दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लिलामणी पोखरेल, हितराज पाण्डे, हितमान शाक्य, राम कार्की र डिलाराम आचार्यलाई सचिव प्रस्ताव गरिएकाे छ ।यस्तै, कोषाध्यक्षमा केन्द्रीय कार्यालय मुख्यसचिव श्रीराम ढकाललाई बनाउने प्रस्ताव गरिएकाे छ ।

