तिजको दर खाएका एकसयभन्दा बढी बिरामी

NewsBankNepal News/समाचार , २ वर्ष अगाडि

गोरखामा तिजको दर खाएका एउटै गाउँका एक सयभन्दा बढी व्यक्ति बिरामी परेका छन् । गोरखा नगरपालिका–७ मान्द्रेढुङ्गाका महिला तथा पुरुष तिजको भोज खाएपछि बिरामी परेका हुन् ।   वडाध्यक्ष विष्णु श्रेष्ठका अनुसार भोज खाएका अघिकांश बिरामी परेका छन् ।

“कृष्ण जन्माष्टमीका दिन स्थानीय महिला तथा पुरुष मिलेर तिजको दर खाएका थिए । सोही साँझदेखि नै भोज खाएका सबै बिरामी परेका हुन्”, उनले भने, “बिरामी परेको थाहा पाएपछि स्वास्थ्यकर्मी लगेर उपचार सुरु गरिएको छ ।”   स्वास्थ्यकर्मीको टोलीले ४० जनाभन्दा बढीको स्वास्थ्य जाँच गराएको श्रेष्ठले बताए । बिरामीको घरघरमा स्वास्थ्यकर्मीको टोली पठाएर आवश्यक औषधोपचार गरिएको उनले बताए ।

  बिरामी परेकाहरू अहिले विस्तारै निको हँुदै गएका छन् । केहीलाई अझै घरमै स्लाइनपानी दिएर राखिएको अहेव भूमिका श्रेष्ठले जानकारी दिए। बिरामीमा शनिबार साँझदेखि नै पेट दुख्ने, वान्ता हुने, जरो आउने र पखाला लाग्ने समस्या देखिएको उनले बताए।

बिरामीमध्ये अधिकांशको गोरखा सदरमुकामका निजी क्लिनिकमा उपचार भइरहेको छ । “केही आफैँ गोरखा अस्पताल पुगेर उपचार गराइरहेका छन्”, उनले भने ।