तीजमा पशुपतिनाथकाे मूल मन्दिर र परिसरको तस्बिर खिचे नगद जरिवाना गरिने!

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , २ वर्ष अगाडि

काठमाडाैं । हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनले मूल मन्दिर र त्यस परिसरको तस्बिर खिचेमा नगद जरिवाना गरिने भएको छ । पशुपतिनाथको मूल मन्दिरभित्र तस्बिर खिच्न मनाही गरिँदै आएको छ ।

पछिल्लो समय सबैका हातमा मोबाइल हुने भएकाले तस्बिर खिच्ने क्रम बढ्न थालेपछि नगद जरिवानासहित कारबाही गर्न लागिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखाका प्रमुख गौरीशंकर पराजुलीले जानकारी दिनुभयो । सनातनदेखि तस्बिर खिच्न मनाही गरिएको स्थानको तस्बिर खिची सामाजिक सञ्जालमा राख्ने, टिकटक बनाउने गर्ने क्रम बढ्न थालेपछि कोषले यस्तो तयारी गरेको हो ।

गर्भगृहको तस्बिर खिचेमा रु दुई हजार एकसय, मुख्य मन्दिरको तस्बिर खिचेमा रु एक हजार एक सय र मूल मन्दिर परिसरको तस्बिर खिचेमा रु ५०० जरिवाना गर्न लागिएको हो । पशुपतिनाथ मूल मन्दिर क्षेत्रमा मोबाइलले तस्बिर खिचे नखिचेको अनुगमन गर्न कोषका कर्मचारी समूहले सूक्ष्म अनुगमन गर्न लागेको जानकारीसमेत उहाँले दिनुभयो ।

कोषले तीजका दिन यही भदौ १४ गते बिहान छ बजेपछि पुरुष दर्शनार्थीलाई पशुपतिनाथ मन्दिर प्रवेश गर्न नदिने भएको छ । पशुपतिनाथका नित्य दर्शनार्थीलाई त्यसअघि नै दर्शन गरेर फर्कन पनि कोषले आह्वान गरेको छ ।