आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्यहरूको पार्टीगत सिटको भागवण्डा टुंगो लगाउन सत्तारुढ गठबन्धनको सिट बाँडफाँट कार्यदलको निर्णायक बैठक आज बस्दैछ ।
निर्णायक भनिएकाे आजको बैठकले सिट बाँडफाँटको विषयलाई टुंग्याउने बताइएकाेछ । नेताहरूले भनेजस्ताे सजिलै सिटकाे बाँडफाँट टुंगाे लाग्ने सम्भावना भने कमजाेर देखिएकाे छ । भदाै पहिलाे साता नै सहमतिसहितकाे प्रतिवेदन बुझाउन भने पनि कार्यदलले टुंगाे लगाउन सकेकाे छैन ।
दलहरूको आ–आफ्नै दाबीका कारण अहिलेसम्म पनि प्रतिनिधिसभाको १६५ र प्रदेश सभाको ३३० सिटका लागि सिट बाँडफाँट हुन सकेको छैन । प्रतिनिधिसभाकाे १६५ सिट मध्ये प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले कम्तीमा १०० सिटमा दाबी गरिरहेकाे छ । गठबन्धनमा सहमति जुटाउन कांग्रेसकाे संस्थापन पक्षले ९० सिटमा झर्ने संकेत देखाए पनि संस्थापनइतर समूहले १०० सिटभन्दा घट्न नसकिने दबाब दिइरहेकाे छ ।
कांग्रेसले १०० भन्दा कम सिटमा प्रतिस्पर्धा गरे गठबन्धनकाे सिट घट्ने र एमालेकाे सिट बढ्ने खतरा रहने भएकाेले शक्ति अनुसार मात्रै सिटकाे दाबी गर्न सत्तारुढ घटकलाई कांग्रेस नेताहरूकाे सुझाव छ ।
कांग्रेसलाई १०० सिट दिए चुनावपछि उसले साना दलसँग मिलेर बहुमतकाे सरकार बनाउन सक्ने भएकाले ८० देखि ८५ सिटमा सीमित राख्नुपर्ने माओवादीका नेताहरू तर्क गर्छन् ।