काठमाण्डौ उपत्यका प्रहरीले चाडपर्वलक्षित विशेष सुरक्षा योजना आजदेखि लागू गरेको छ।
प्रहरी परिसर काठमाण्डौका प्रवक्ता दिनेशराज मैनालीले दशैँ तिहार र छठलाई लक्षित गरेर तयार गरेको विशेष सुरक्षा योजना आजदेखि लागू भएको बताए । उनले आफ्नो घर, भाडामा वा काममा बस्ने व्यक्तिको नाम, थर, स्थायी वतन र फोटोसहितको विवरण राख्न सबैलाई अनुरोध समेत गरे।
प्रहरीले आफ्नो घर र टोलमा शङ्कास्पद व्यक्तिको गतिविधि देखिए तुरुन्त खबर गर्न पनि अनुरोध गरेको छ । घरको गेट, ढोकाको चुकल, कब्जा राम्रोसँग बन्द गर्न, लामो समयका लागि घर बाहिर जानुपरेमा विश्वासिलाे छिमेकी वा नजिकको प्रहरीलाई जानकारी गर्न, सकेसम्म नगद, बहुमूल्य सामान र गरगहनाहरु घरमा नराख्न र दशैँ तिहारका लागि गाउँ जान लागेको जानकारी सामाजिक सञ्जालमा पोस्ट नगर्न समेत प्रहरीले अनुरोध गरेको छ।

