झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतप्रतिको नीति स्पष्ट पार्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।
झापाको सुरुङ्गामा बिहीबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्री देउवाको भारतप्रतिको नीति स्पष्ट नभएको भन्दै आपत्ति जनाए ।चुच्चे नक्सा जारी गर्दा हस्ताक्षर गरेर सहमति जनाउने तर अहिले अतिक्रमित जमिनप्रति चुप लागेर बसेको भन्दै ओलीले प्रधानमन्त्री देउवाको नीति के हो ? भनेर प्रश्न गरेका थिए ।
प्रधानमन्त्री देउवाप्रति कटाक्ष गर्दै ओलीले अतिक्रमित नेपाली जमिनबारे भारतसँग माग्न नजाने वार्तामार्फत फिर्ता ल्याइने बताए ।बुधबार दार्चुलाको चुनावीसभामा प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले ‘अतिक्रमित जमिनबारे ओलीले दार्चुलामा नभई भारतसँग कुरा गर्नुपर्ने’ भनि टिप्पणी गरेका थिए ।
उनले प्रधानमन्त्री पदबाट खसिन्छ कि भनेर काम नगर्न पनि देउवालाई सुझाव दिए । उनले भने,‘समय पुगेपछि सबै खस्नेछन् । तपाईं प्रधानमन्त्रीबाट खसिन्छ कि भनेर होइन । बाँचुन्जेल देशका लागि राम्रो गर्छु भनेर काम गर्नुहोस् ।’

