राष्ट्रपति बन्ने सहमति भए जिम्मेवारी लिन तयार छु : खनाल

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , २ वर्ष अगाडि

इलाम । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफू राष्ट्रपति बन्ने पक्कापक्की भइनसकेको बताउनुभएको छ ।

इलाम निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार खनालले मङ्गलबार पत्रकारहरूसँग कुरा गर्दै भन्नुभयो, “राष्ट्रपति, प्रधानमन्त्री वा अन्य कुनै पदमा किन नहोस् म जिम्मेवारी लिन तयार छु, तर बाहिर चर्चा भएजस्तो निर्वाचनपछि मलाई नै राष्ट्रपति बनाउने भनेर गठबन्धनभित्र सहमति भने भएको छैन ।” उहाँले निर्वाचनपछि एउटैमात्र दलको सरकार नबन्ने बताउनुभयो ।

“अब एउटै दलको सरकार त बन्दैन तर गठबन्धनको बहुमत आउने भएकाले सहमतिमा भागबन्डा मिलाउँदा मलाई जुन जिम्मेवारी पर्छ त्यो बहन गर्न तयार छु ।” खनालका अनुसार यो निर्वाचन उहाँको अन्तिम चुनावी लडाईं हो । उमेरले ७३ वर्ष पुगे पनि देश विकासका लागि पाँच वर्ष कार्यकारी प्रमुख भएर काम गर्न तयार रहेको बताउँदै उहाँले भन्नुभयो, “मसँग अनुभव छ, देश बनाउने योजना छ ।

त्यसैले जुनसुकै पदमा रहेर काम गर्न सक्छु, अझ पाँच वर्ष प्रधानमन्त्री भएर काम गर्न पाएँ भने मुलुकलाई नयाँ मोडमा पुर्याउँछु ।” इलाम क्षेत्र नं १ मा सोचेजस्तो विकास हुन बाँकी रहेको खनालको भनाइ छ । “लामो समयदेखि मैले प्रयास गर्दा पनि अपूरो रहेको काम गर्न यहाँका जनताले पुनः एकपटक मलाई निर्वाचित गराउनुहुनेछ”, उहाँले भन्नुभयो, “भएका काम धेरै छन्, हुन बाँकी पनि छन् त्यो अभिभारा पूरा गर्न जनादेश लिएर जाँदैछु ।”