काठमाडाैं । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि सुरु भएको छ ।
प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ ।
स्वस्थानी परमेश्वरीको व्रत बसे तथा उनको कथा भने र सुने मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । माधवनारायण स्वस्थानी व्रत तथा सालीनदी सुधार समितिले पुस २२ गतेदेखि १ महिनासम्म चल्ने शालीनदी मेलाका लागि यातायात, सुरक्षा र स्वास्थ्यलगायतका विषयमा सम्पूर्ण तयारी पूरा भइसकेको मूल आयोजक समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले बताए।
समितिले गएको वर्ष लाखौँको सङ्ख्यामा भक्तालु दर्शनार्थीले प्रत्यक्ष माधवनारायण स्वस्थानी व्रत मेलामा दर्शन गरेको अवस्थालाई मध्यनजर गर्दै यस वर्ष पनि सोही अनुपातमा श्रद्धालु भक्तजन आउने अपेक्षा गरेको छ । मेलाका लागि शान्ति सम्पूर्ण व्यवस्थापनको तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ ।
महानगरीय प्रहरी प्रभाग साँखुले पनि सुरक्षाका लागि प्रहरी ‘हेल्प डेस्क’को स्थापना गरेको छ साथै ट्राफिकको उचित व्यवस्थापन गरेको प्रहरी निरीक्षक जनक पुरीले बताए ।

