प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिंदै

NewsBankNepal Latest Update , MainNews/प्रमुख समाचार , ३ वर्ष अगाडि

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसदमा विश्वासको मत लिंदै छन् ।  एमालेसँगको गठबन्धनको समर्थनमा प्रधानमन्त्री बनेका प्रधानमन्त्री प्रचण्डलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीका साथै स्वतन्त्र सांसद प्रभु साह र अमरेशकुमार सिंहको समर्थन रहने छ । यो संख्या १६५ हुन आउँछ । 

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिंदैगर्दा समर्थन गरेको दल नागरिक उन्मुक्ति पार्टी र तत्कालीन नेकपाकालका सहयात्री नेकपा एकीकृत समाजवादी पार्टी विपक्षी बेञ्चमा छन् । यी दुई दलले विश्वासको मत दिने नदिने निश्चित भइसकेको छैन । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने विपक्षमा मत दिने निश्चित छ ।एकीकृत समाजवादी पनि सर्प्राइज समर्थनको तयारीमा छ । यदि उन्मुक्ति पार्टीले पक्षमा मत हाल्ने निर्णय गरे १६९ सांसदको समर्थन हुने छ । १३८ मत मात्र भएपनि प्रचण्ड सरकारलाई बहुमत पुग्छ ।नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम नियुक्त भएको प्रधानमन्त्रीले सोही उपधाराको ४ बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान छ।

सभामुखले प्रधानमन्त्रीलाई प्रस्ताव पेस गर्न समय दिनेछन् ।प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिनुअघि संसदमा सांसदहरुलाई आफूलाई प्रधानमन्त्रीमा विश्वासको मत दिन प्रस्ताव पेस गर्दै आफूलाई विश्वासको मत किन दिने भन्नेबारेमा आफ्नो सम्बोधन गर्ने कार्यसूचि छ ।

प्रधानमन्त्रीको सम्बोधनपछि संसदमा प्रधानमन्त्रीको विश्वासको मत लिने प्रस्तावबारे सांसदले बोल्न चाहेमा सभामुखले समय उपलब्ध गराउनुपर्ने छ । सभामुखले दिएको समयसीमाभित्र प्रधानमन्त्रीको विश्वासको मत लिने प्रस्तावमा सांसदले आफ्नो धारणा राख्नेछन् ।

प्रतिनिधि सभामा आफूले राखेको विश्वासको मत दिने प्रस्तावमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनेछन् । प्रधानमन्त्रीले सांसदहरुले गरेका प्रश्नको जवाफ दिइसकेपछि संसदमा मत विभाजनको प्रक्रिया सुरु हुनेछ ।