पश्चगमन र प्रतिगमनका विरुद्ध साझा उद्देश्यका साथ उभिएका छौँ : अध्यक्ष नेपाल

NewsBankNepal Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ३ वर्ष अगाडि

काठमाडाैं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आम निर्वाचन अगाडि नै समाजवादी मोर्चा घोषणा गर्ने उद्देश्य राखिएको भए पनि तत्कालीन अवस्थाका कारण सम्भव नभए पनि हाल आएर सफल भएको बताउनुभयो ।

मोर्चा स्वार्थ, सिद्धान्तहीन र विचारहीन मोर्चा नभएको उल्लेख गर्दै उहाँले पश्चगमन र प्रतिगमनका विरुद्ध साझा उद्देश्यका साथ एकै ठाउँमा उभिएको बताउनुभयो । मोर्चा कोही कसैलाई फकाउन र कोही कसैलाई तर्साउनका लागि नभएको अध्यक्ष नेपालको भनाइ छ ।

सरकारमा रहेका र नरहेका शक्ति एक ठाउँमा उभिनु नै मोर्चाको नयाँपन रहेको स्पष्ट पार्दै अध्यक्ष नेपालले अग्रगामी चिन्तन बोकेको र मोर्चामा आबद्ध दलका बीचमा एकापसमा विश्वास रहेको एवं समानता रहेको बताउनुभयो । उहाँले २०७४ मा नेपाली जनताले तत्कालीन नेकपालाई अत्यधिक मत दिएको भए पनि त्यसलाई रक्षा गर्न नसकिएको तथ्य पेस गर्दै विगतको अनुभवबाट शिक्षा लिएर अगाडि बढ्न चाहेको बताउनुभयो ।

समाजमा अत्याचार, शोषण गर्नेलाई कुनै पनि छुट नदिन र दोषीलाई कारबाहीको दायरामा ल्याउन अध्यक्ष नेपालले प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले मुलुकको समग्र पक्षको अध्ययन तथा विश्लेषण गरेर नेपाली विशेषतासहितको समाजवाद निर्माण गरिने दृढता व्यक्त गर्नुभयो ।