काठमाडाैं । बाढी तथा पहिरोले नारायणगढ-मुग्लिन सहित देशका विभिन्न भागमा पाँच वटा राजमार्ग अवरुद्ध भएका छन्।
पहिरो खसेपछि बिहीबारदेखि नारायणगढ-मुग्लिन सडक अवरुद्ध छ। पहिरो खस्ने क्रम जारी रहेकाले पन्छाउन नसकिएको इलाका प्रहरी कार्यालय, मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङले बताए। उनका अनुसार, “आज दिनभर पहिरो पन्छाएर पनि सडक सञ्चालन गर्न सक्ने अवस्था छैन।”
काठमाडौंबाट भरतपुरतर्फ आएका सवारीसाधन मुग्लिन र कुरिनटार क्षेत्रमा रोकिएका छन् भने नारायणगढबाट काठमाडौं, पोखरातर्फ जाँदै गरेका सवारीसाधन जलबिरे क्षेत्रमा रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। पहिराेका कारण सयौं यात्रु अलपत्र परेका छन्।
बर्खा लागेसँगै नारायणगढ-मुग्लिन सडकखण्डमा पटक-पटक पहिरो जाने र बाटो बन्द हुने गरेको छ।
त्यस्तै, बाढीले गर्दा मेची राजमार्ग ,कोशी राजमार्ग र तानसेन-रिडी-कोरला सडक अवरुद्ध रहेको सडक विभागले जनाएको छ। सडक अबरुद्ध हुँदा यात्रुकाे विचल्ली भएकाे छ ।

