कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न : अर्को बैठक असोज २ गते

NewsBankNepal Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले पार्टीभित्र देखिएको गुट–उपगुट अन्त्य गर्दै पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्नेमा जोड दिनुभएको छ ।

सानेपास्थित पार्टी कार्यालयमा बसिरहेको केन्द्रीय कार्यसमिति बैठकमा आज केन्द्रीय सदस्यहरूले पार्टीभित्रको गुटउपगुट अन्त्य गर्नका लागि पार्टी सदस्य वितरणमा पारदर्शिता हुनुपर्ने धारणा राख्नुभयो ।

महामन्त्री विश्वप्रकाश शर्माले नीति अधिवेशनको साटो महासमिति बैठक गर्नुपर्ने माग गर्नुभयो । उहाँले भन्नुभयो, “नीति अधिवेशनमार्फत गर्ने भनिएको काम गर्ने गरी मङ्सिर ११, १२ र १३ गते महासमिति बैठक गरौँ ।” मङ्सिर २०७८ मा भएको कांग्रेसको १४ औँ महाधिवेशनले नीति अधिवेशन गर्ने निर्णय गरेको थियो ।

केन्द्रीय सदस्य चित्रालेखा यादवले महिला नेत्रीले पार्टीमा दिएको योगदानको चर्चा गर्दै दिवङ्गत भइसक्नुभएका महिला नेत्रीहरूको योगदानलाई पार्टीले सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । पार्टी केन्द्रीय सदस्य डा मीनेन्द्र रिजाल, रामहरि खतिवडा र अर्जुननरसिंह केसीले पार्टीभित्रको गुट–उपगुट अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

यसैबीच, यही साउन २ गतेदेखि सञ्चालन भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज सम्पन्न भएको छ ।

बैठक समापन गर्दै पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बैठकमा आफ्नो बारेमा सोचेभन्दा कम आलोचना भएको बताउनुभयो । सभापति देउवाले भन्नुभयो, “धेरै आलोचना होला भन्ने लागेका थियोे, तर कम आलोचना भयो, यसका लागि धन्यवाद ।” उहाँले केन्द्रीय समितिको बैठकबारे लाइभ गरेका कारण पार्टीभित्रका नेताहरूको क्षमता सबैले बुझ्ने अवसर पाएको टिप्पणी गर्नुभयो ।

सभापति देउवाले पार्टीको केन्द्रीय समितिको अर्को बैठक असोज २ गते बस्ने पनि जानकारी दिनुभयो । बैठकको अन्तिममा पार्टीलाई विभिन्न समयमा योगदान गर्नुहुने नेता तथा कार्यकर्ताका आफन्तको मृत्युमा शोक प्रस्ताव पारित गरिएको थियो ।