दुर्गम क्षेत्रको हवाई उडानमाथिकाे प्रतिबन्ध हट्याे

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , १ वर्ष अगाडि


दिउँसो १२ बजेपछि मात्र उडान गर्न पाउने

काठमाडौँ। नेपाल नागरिक उड्डयन प्राधिकरणले दुर्गम क्षेत्रको हवाई उडानमाथि लगाएको प्रतिबन्ध हटाएको छ । प्राधिकरणले उडानसम्बन्धी मापदण्डलाई कडाइका साथ लागू गर्दै देशभरको पहाडी क्षेत्रमा अवस्थित ‘सर्ट टेक अफ एन्ड ल्यान्डिङ’ (स्टोल) अर्थात् छोटो उडान र अवतरण हुने विमानस्थलमा यसअघि लगाइएको उडान समयावधि हटाएको हो ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार उडान सुरक्षा मापदण्डको कडाइका साथ पालना गर्ने र मौसमअनुकूल उडान गर्ने गरी यसअघिको उडान प्रतिबन्ध हटाइएको छ । यसअघि प्राधिकरणले दुर्गम क्षेत्रका विमानस्थलमा ‘अपरेसन आवर’भित्र मात्रै एयरलाइन्सले उडान गर्न पाउने निर्णय गरेको थियो ।

“देशका दुर्गम भेगका विमानस्थलमा दिउँसो १२ बजेपछि एरलाइन्सहरूले उडान गर्न पाउनेछन् । तर उडान सुरक्षा मापदण्डको कडाइका साथ लागू गर्ने गरी मात्र उडान गर्न दिइएको हो”, प्राधिकरणका सूचना अधिकारी भुलले भन्नुभयो । प्राधिकरणले आजैदेखि देशभरको पहाडी क्षेत्रमा अवस्थित स्टोल उडान सञ्चालनलाई थप सुरक्षित तथा व्यवस्थित गर्नका लागि चार निर्णय गरेको हो । पहाडी क्षेत्रका जनताको हवाई यातायातमा पहुँच वृद्धि गरेर विश्वासनीयता कायम गर्ने उद्देश्यले तत्काल लागू हुने गरी निर्णय लिइएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले छोटो उडान र अवतरण हुने विमानस्थलमा अतिरिक्त समयमा उडान सञ्चालन गर्नुपूर्व गन्तव्य, हवाईमार्ग र वैकल्पिक विमानस्थलमा भएको मौसमको दृश्य मौसमी अवस्था ‘भिएमसी मिनिमा’ कायम भएको सुनिश्चित गरी प्रमुख चालक र डिस्प्याचरको लिखित घोषणापश्चात मात्र उडान अनुमति प्रदान गर्ने निर्णय गरेको छ ।