काठमाण्डौ, १४ भदौ । ९९ महिनापछी चीनसँगको उत्तरी सीमानाका तातोपानी भोलिदेखी खुल्ने भएको छ । २०७२ बैशाख देखी आवागमन बन्द रहेको तातोपानी नाका भोलिदेखी खुल्ने भएको हो ।
गतहप्तातिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिएका छन । नेपालतर्फबाट गरिने सम्पूर्ण तयारी गरेका छौँ’, न्यौपानेले भन्नुभयो ।
विसं २०७२ सालको बिनासकारी भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकोमा तीन महिनाअघिदेखि मालवाहक गाडीको आवतजावत खुलेको थियो । प्रजिअ न्यौपानेले यसअघि मानिस आवतजावत भने खुल्न नसकेको भन्दै भोलिदेखि स्थानीयको आवागमन खुला हुने जानकारी गराउनु भयो । न्यौपानेका अनुसार सिन्धुपाल्चोकका स्थानीयले आवतजावतका लागि एक वर्ष अवधि रहेको पास पाउनेछन् ।