दुई बालकको मृत्युपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग सञ्चालनमा

NewsBankNepal Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , १ वर्ष अगाडि

मलेखु । ट्रकको ठक्करबाट बालकको मृत्यु भएपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जयसवारले अहिले राजमार्ग सञ्चालनमा आएको जानकारी दिए । मृतक बालकको शव पोष्टमार्टमका लागि गजुरी अस्पताल पुर्‍याइएको छ ।

धादिङको गजुरी गाउँपालिका–२ मलेखुस्थित मजुवामा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु भएको थियाे । सिद्धलेक गाउँपालिका–६ का निर्मल श्रेष्ठ र सञ्जीव श्रेष्ठको ट्रकको ठक्करबाट घटनास्थलमै ज्यान गएको जैसवारले जानकारी दिनुभयो ।

घटनापछि स्थानीयले क्षतिपूर्तिको माग गर्दै पृथ्वीराजमार्गको मलेखु क्षेत्रमा यातायात बन्द गराएका थिए । ट्रक चालक रौतहटको चन्द्रपुर नगरपालिका–२ का ४१ वर्षीय अशोक बम्जनलाई प्रहरीले नियन्त्रण लिएको छ ।

काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको प्रदेश०२–००१ख ६४१३ नम्बरको ट्रकले आज बिहान दुवैजनालाई ठक्कर दिएको थियो । मृतक दुवै बालक बागेश्वरी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत थिए ।