माल्दिभ्सविरुद्ध नेपालकाे गोल वर्षा

Bhim Thapa Latest Update , Sports/खेलकुद , १ घण्टा अगाडि


काठमाडाैं । साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा नेपालले साेमबार माल्दिभ्सविरुद्ध फराकिलो जित निकालेको छ । काठमाण्डौकाे त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ भएकाे खेलमा नेपालले माल्दिभ्स विरूद्ध ११-० को जित हासिल गरेकाे हाे ।

खेलको पहिलो हाफ सकिदा नेपाल ४-० गोल अन्तरले अगाडि रहेको नेपालले दोस्रो हाफमा ७ गोल थप्यो र ११-० गोलअन्तर सहित नतिजा आफ्नो पक्षमा पार्यो । माल्दिभ्स विरुद्धको सानदार खेल प्रदर्शनमा रेखा पौडेलले पाँच, प्रीति राईले तीन तथा सवीता रानामगर, अनिता केसी र अमिशा कार्कीले समान एक गोल गरे । यो जितसंगै ४ अङ्क बनाएको नेपाल समूह बीको शीर्ष स्थानमा उक्लिएको छ ।

यसअघि समूह बी को पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो । पहिलो खेलमा श्रीलंकासंग १-० गोल अन्तरले पराजित माल्दिभ्स भने अंकविहीन छ ।

यसैबीच आजै भएको पहिलो खेलमा श्रीलङ्कालाई ४-१ गोल अन्तरले हराउँदै भूटान विजयी भयो । अब समूह चरणको अन्तिम खेलमा बिहीबार नेपालले श्रीलंका र माल्दिभ्सले भुटानको सामना गर्नेछन् ।।