डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकाकाे राष्ट्रपतिमा निर्वाचित,विश्वका नेताहरूले दिए बधाई

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , प्रवास , २ महिना अगाडि


एजेन्सी । अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प दोस्रो पटक विजयी भएका छन् । मंगलबार भएको राष्ट्रपतिय चुनावमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै ट्रम्प अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् । 

ट्रम्पले २ सय ७७ इलेक्टोरल मत पाएका छन् भने डेमोक्रेटिक पार्टीकी उम्मेदवार ह्यारिसले कम्तीमा २ सय २४ इलेक्टोरल मत प्राप्त गरेकी छिन्। अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन कुल ५ सय ३८ मतमध्ये कम्तीमा २ सय ७० इलेक्टोरल मत ल्याउनुपर्छ । राष्ट्रपतीय निर्वाचनको मत परिणामबारे औपचारिक रूपमा घोषणा हुन भने बाँकी रहेकाे छ ।

७८ वर्षीय ट्रम्पले ऐतिहासिक कमब्याक गरेका छन् । यस अघि ट्रम्प सन् २०१७ देखि २०२१ सम्म राष्ट्रपति भएका थिए ।

यसैबीच,अमेरिकी रिपब्लिकन नेता ट्रम्प अमेरिकी राष्ट्रपतीय निर्वाचित भए लगत्तै विश्वका नेताहरूले बधाई दिएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्रम्पको ‘चुनावी विजय’को प्रशंसा गरेका छन् । उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘मेरो मित्र डोनाल्ड ट्रम्प तपाईंको ऐतिहासिक चुनावी विजयका लागि हार्दिक बधाई छ।’

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यसलाई पूर्व अमेरिकी नेताका लागि ऐतिहासिक पुनरागमन र अमेरिका–इजरायल गठबन्धनको नयाँ सुरुवात भएको बताएका छन् ।

युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले ट्रम्पलाई बधाई दिँदै वासिङ्टन र ब्रसेल्सले ‘बलियो ट्रान्सएटलान्टिक एजेन्डा’मा मिलेर काम गर्ने आशा व्यक्त गरेकी छन् ।

त्यसैगरी, उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) का प्रमुख मार्क रुटले ट्रम्पलाई बधाई दिँदै उनको सत्तामा पुनरागमनले गठबन्धनलाई ‘बलियो’ राख्न मद्दत पुग्ने बताएका छन् ।

फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिँदै ‘हामीले आगामी चार वर्षसम्म सम्मान र महत्वाकाङ्क्षाका साथ उहाँसँग काम गर्न तयार छौँ’ भनेका छन् ।साभार कान्तिपुर