रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दर्ता,सांसद पद निलम्बन हुने

Bhim Thapa Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ७ घण्टा अगाडि

कास्की । सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ ।

लामिछानेसँगै रामबहादुर खनाल, छविलाल जोशी र लीला पछाइविरुद्ध आज सम्पत्ति शुद्धिकरणमा मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले जनाकारी दिइन् ।

पूर्वगृहमन्त्री लामिछानेमाथि रु २७ करोड ८९ लाख ४४ हजार सात सय बिगो दाबीसहित मुद्दा दर्ता गरिएको छ। यस्तै जोशीविरुद्ध रु ७४ करोड ३४ लाख ७१ हजार बढी बिगो दाबीसहित मुद्दा दायर गरिएको छ ।

लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमा र ३१ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दायर गरिएको छ । सरकारी वकिल कार्यालयका अनुसार सहकारी ठगी प्रकरणमा हालसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ ।

सहकारी बचत रकम अपचलन गरेको आरोपमा गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका
सभापति लामिछाने माथि कास्कीसहित अन्य जिल्लासमेत सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ ।

यसैबीच,पूर्वगृहमन्त्री लामिछानेको सांसद पद निलम्बन हुने भएको छ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐनअन्तर्गत अदालतमा अभियोगपत्र दर्ता भएकाले लामिछानेको सांसद पद स्वत: निलम्बन हुने भएको हो ।  जिल्ला सरकारी वकिलको कार्यालय कास्कीका जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले मुद्दाको अन्तिम टुंगो नलागेसम्म ऐनअनुसार लामिछानेको पद निलम्बित हुने बताइन् ।