काठमाण्डौ,७ फागुन । अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुराँ मजदुर संघ न्यूनतम् पारिश्रमिक तथा सेवाशुल्कको माग राख्दै माग पुरा नभए सम्म आन्दोलनमा होमिने भएको छ । सँघको केन्द्रिय समितिको चौथौ पूर्ण बैठकले आज गरेको निर्णय अनुसार आगामी फाल्गुन १५ देखी माग पुरा नभए सम्म चरणबद्ध आन्दोलनमा उत्रने भएको हो । सेवा शुल्क पुनः प्राप्ति, नियमित काममा स्थायी श्रमिक र नेपाल सरकारको श्रेणीविहीन कर्मचारीसरह श्रमिकको न्यूनतम पारिश्रमिक कायम गराउन मजदुर जागरण अभियानको नारा तय गरीएको सँघका अध्यक्ष कुमार पन्तले बताए ।
अध्यक्ष पन्तका अनुसार सँघको चौथो पुर्ण बैठकले २०८१ फागुन १५ देखि फागुन २५ गतेसम्म सबै प्रतिष्ठानहरुमा सेवा शुल्क पुनः प्राप्तिको आन्दोलन गर्न जागरण अभियान संचालन गर्ने, केन्द्रीय समितिले अभियानको उद्देश्यसहितको अपिल प्रकाशन गर्ने, अभियानमा मुख्य रुपमा सेवा शुल््क कानुनी रुपमा पुनः प्राप्ति र नियमित काममा नियमित रोजगार सम्झौता तथा सबै श्रमिक (करार, आपूर्तिकर्ता, आकस्मीत र नियमित)लाई समान रुपमा सेवा शुल््कको वितरण र न्युनतम पारिश्रमिक श्रेणीविहीन कर्मचारीसरह हुनुपर्ने जस्ता एजेन्डा तय गरेको छ ।

श्रम ऐन २०७४ को संसोधन र पर्यटन ऐन निर्माणको प्रकृयामा रहेकाले उक्त ऐनहरुमा सेवा शुल्क लिन पाउने प्रावधानलाई सम्बोधन गराउनको लागि व्यापक मजदुर परिचालन गरी सडकबाट दवाव सिर्जना गर्ने र नियमित काममा स्थायी श्रमिक अनिवार्य राख्नुपर्ने जस्ता मागहरू पनि बैठकले पास गरेको छ।

बैठकले अन्य संगठनहरुसँग सेवा शुल्क पुनः प्राप्तिको लागि संयुक्त कार्यक्रम बनाउन प्रयत्न गर्ने, व्यापक श्रमिक उपस्थित गराउन सबैले रचनात्मक रुपमा आफ्नो भूमिका निभाउँदै सबै मजदुरहरुलाई परिचालन गर्ने, डिजिटल मिडियालाई सवै मजदुरहरुको आन्दोलनको पक्षमा प्रभावकारी रुपमा लाग्न आग्रह गर्ने, सञ्चार क्षेत्रमा आन्दोलनको पक्षमा कुरा गर्दा यस क्षेत्रमा सेवा शुल्कले पारेको प्रभाव, प्रतिष्ठानको संख्या, प्रभावित श्रमिक संख्या र यसको कारणले उपभोक्ता ठगीएकै हो त ? लगायतका विषयमा आम मानिसले बुझ्ने भाषामा छलफलको सुरुवात गर्ने जस्ता एजेन्डा पनि तय भएको ट्रेड युनियन महासँघका उप महासचिब तथा इन्चार्ज माधव पाण्डेले बताए ।
होटल, क्यासिनो तथा रेष्टुँरामा काम गर्ने श्रमिककोे रोजगारी तथा आम्दानीको ग्यारेन्टि नहुदा उनिहरु बिदेशिन बाध्य भए भन्दै इन्चार्ज पाण्डेले यहि कारण पाँचतारे होटलहरु समेत अहिले ट्रनिङ सेन्टर मात्रै बन्दै गइरहेको बताए ।

