दिपक पुडासैनी
काठमाडौं । जलवायु परिवर्तको असरले हिमालहरु कालापथ्थरमा परिणत हुँदैछन । हिमाली भेगमा समेत तापक्रम बढ्दो छ । हिमतालहरु क्रमशः फुट्दैछन, वातावरण बिनास तर्फ बढ्दै छ र पृथ्वी मानव बसोबासकालागी खतरा बन्दै छ । जलवायु परिवर्तनले सबैभन्दा धेरै असर गरिरहेको भन्दै अन्तर्राष्ट्रिय मञ्चहरुमा आवाज उठाइरहेको नेपालले भने प्रथम जलवायु सम्मेलन गरेको स्थललाई बिर्सँदै गएको छ ।

हो प्राकृतिक सौन्दर्यले भरिपूर्ण, चारैतिर हरियाली डाँडाकाँडा र हिमालको दृष्याअवलोकन गर्न सकिने मनोरम स्थल गुफाडाँडा संघ र प्रदेश सरकारको आँखाबाट ओझेल परेको छ ।
२०७५ पुसमा तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रथम जलवायु सम्मेलनको उद्घाटन गरे यता गुफाडाँडाको सँरक्षण र विकासमा केन्द्र र प्रदेश सरकारले कुनै चासो देखाएको छैन ।
मेलम्ची बजारबाट मात्र १५ किलोमिटर दुरीमा मेलम्ची नगरपालिका ९ मा रहेको गुफाडाँडामा वातावरण संरक्षणको उदेश्यलै हालैमात्र सम्पादक समाजले पदयात्रा कार्यक्रम आयोजना गरेको थियो ।

‘वातावरण संरक्षणमा सञ्चारकर्मीको योगदान’ भन्ने नारा सहित ८ दर्जन भन्दा बढी पत्रकार सहभागी पदयात्रामा कार्यक्रममा नगर प्रमुख आइतमान तामाङको पनि यही गुनासो रह्यो । पर्यटकीय र जलवायु चेतनाको दृष्टिकोणले महत्वपूर्ण गन्तव्य भए पनि गुफाडाँडा संघीय र प्रदेश सरकारबाट उपेक्षित छ । उनले भने, ‘राज्यको बेवास्ता गरेपनि सिमित श्रोतसाधनकाबीच स्थानीय सरकारले यसवर्ष उक्त वडामा १३ करोड रुपैयाँ बजेट छुट्याएको छ । जसमा पूर्वाधार निर्माण, सडक मर्मत गर्नेदेखि सांस्कृतिक महत्व बोकेको झाँक्रीको मुर्ति निर्माण गर्नेदेखि बुद्ध पार्कसम्मको योजना रहेको नगर प्रमुख तमाङले जानकारी गराए।

विकट होइन, राजधानीबाट टाढा पनि होइन केबल ५४ किमी को दुरी हो, त्यसमा पनि मेलम्ची बजारबाट मात्रै १५ किमी । यहि १५ किमी बाटो स्तरउन्नती गरी सहज यातायात सन्चालन गर्नपाए स्वर्ग जस्तो यो ऐतिहाँसिक र पर्यटकिय क्षेत्रको मुहार फेरिने थियो भन्नु हुन्छ गुफाडाँडा अवस्थित मेलम्ची नगरपालिका वडा नं १३ का अध्यक्ष किरण दिप खड्का ।

देशका ७७ वटै जिल्लाका प्रतिनिधीको रोहबरमा सम्पन्न भएको प्रथम जलबायू सँम्मेलन तथा जलबायू पार्क त्यसयता सरकारले चासो दिन छोडेपछी यसको सँरक्षण, उत्थान र सँम्बर्धनमा सँचार क्षेत्रमार्फत टेवा पुर्याउन यहि ठाउँलाई रोजेको बताउनू हुन्छ सम्पादक समाजका महासचिब श्याम डोटेल । महासचिब डोटेलले मेलम्चीमा गएको बाढीले गुफाडाँडाको वातावरणीय संवेदनशीलतालाई थप झल्काएको बताउँदै त्यहाँ पुग्ने पर्यटकलाई काठमाण्डौबाट आउने चाउचाउ र बिस्कुट हैन, स्थानीय उत्पादनबाटै सत्कार गर्न पनि सुझाव दिएका थिए ।

आन्तरिक पर्यटकको रोजाइमा पर्दै गइरहेको गुफाडाँडामा पत्रकारहरुको यसकिसिमको पदयात्राले थप प्रोत्साहन मिलेको बताउँदै नेपाल पत्रकार महासँघ सिन्धुपाल्चोकका अध्यक्ष ध्रुव दङ्गालले यस ऐतिहाँसिक स्थलको संरक्षणमा अब संघीय सरकारले पनि चासो राख्ने अपेक्षा गरे।

यस अघि पदयात्रामा निस्किएका पत्रकारको टोलिलाई शंकरापुर नगरपालिकाका नगर प्रमुख रमेश नापितले सांखुबाट बिदाई गरेका थिए भने मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले मेलम्ची बजारमा स्वागत गरेका थिए । पत्रयात्रा कार्यक्रममा सम्पादक समाजका सँरक्षक किरण वैद्य, उपाध्यक्ष जुनारबाबु बस्नेत, वरिष्ठ पत्रकारहरु तीर्थ कोइराला, टंक पन्त, इश्वरी वाग्ले लगायतको सहभागिता थियो । पदयात्रा कार्यक्रमलाई मेलम्ची नगरपालिका, शंकरापुर नगरपालिका तथा शिखर इन्सुरेन्सले सहजीकरण गरेका थिए ।

