काठमाडौँ, २ चैत्र । गैरआवासीय नेपाली संघको जारी १२ औ अन्तर्राष्ट्रिय महाधिवेशनबाट बेलायत निवासी डा. हेमराज शर्मालाई सर्वसम्मत अध्यक्ष चयन गरिएको छ । ‘एकता, लगानी र गौरव’ को नारासहित काठमाडौँमा भइरहेको महाधिवेशनमा अध्यक्षका आकाँक्षी उम्मेदवार रोविन शेरचन र रविन बज्राचार्यले संस्थाको हित र एकताका लागि भन्दै आफ्नो उम्मेदवारी फिर्ता लिएपछी डा. शर्मा सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । उम्मेदवारी फिर्ता लिएका शेरचन वरिष्ठ उपाध्यक्ष र बज्राचार्य उपाध्यक्ष हुने भएका छन् ।

डा.शर्मा सर्वसम्मत अध्यक्ष चयन भएसँगै सबै पदाधिकारी तहमा सहमतिको आधारमा नेतृत्व मिलाउने प्रयास जारी छ । औपचारीक घोषणा हुनु अघि उपाध्यक्षमा मलेसियाका खगेन्द्र न्यौपाने, युकेका रामशरण सिम्खडा, कतारका प्रबिन गुरुङ, बेलायतकी रोजिना प्रधान राई, दक्षिण कोरियाकी जुनु गुरुङ, अस्ट्रेलियाका महेन्द्र ओली, जाम्बियाका रोशन थापा, अस्ट्रेलियाका दिनेश पोखरेल, युएईका मनोज कुमार श्रेष्ठ, रबिन बज्राचार्यको नाम अगाडी आएको छ । यसैगरी, महिला उपाध्यक्षमा हङकङकी राधिका गुरुङ (टीका) ले निर्विरोध जिम्मेवारी प्राप्त गरेकी छिन् भने युवा उपाध्यक्षमा पोर्चुगलका भिमसेन थापा पनि निर्विरोध भएका छन् ।

महासचिवमा बेल्जियमका गंगाधर गौतम र चेक रिपब्लिकका डा. चिरञ्जीवी खड्का चयन भएका छन् । यसैगरी उपमहासचिवमा जापानका टंक प्रसाद गैरे, बेलायतका दिनेश कुमार घिमिरे, अस्ट्रेलियाका डा. ज्ञानेन्द्र रेग्मी, जापानका पारसमणि पोखरेल चयन भएका छन । सचिवमा साउदी अरबका राजेन्द्र अर्याल, अस्ट्रेलियाका सुजन अधिकारी, क्यानडाका अभिमन्यु बस्नेत, बेल्जियमकी अनुजा प्रधान, अमेरिकाका बेदराज बस्नेत, क्यानडाका माधव दुलाल र जापानका सुपेन्द्र घिसिङ चयन हुने सँम्भाबना छ । महिला सचिवमा चीनबाट प्रतिनिधित्व गर्ने अमृता थापा (कञ्चन) तथा कोषाध्यक्ष पदमा बेलायतका कृष्णप्रसाद तिमल्सिना चयन भएका छन् । यसैगरी सह–कोषाध्यक्षमा कतारका अब्दुल बासिद र मोहम्मद मुक्तदा मुसलमान तथा महिला सह–कोषाध्यक्षमा दक्षिण कोरियाकी गंगा खतिवडा निर्बिरोध निर्बाचित भएका छन ।

युवा संयोजकमा जापानका नवीन निउरे चयन भएका छन् भने मध्यपुर्व क्षेत्रीय संयोजकमा रमेश श्रेष्ठ, एशिया प्याशिफिक क्षेत्रीय संयोजकमा दिपक कँडेल, युरोप क्षेत्रीय संयोजकमा रोबोट लिम्बु निर्विरोध चयन भएका छन । क्षेत्रीय तहमा संस्थाको सञ्जाल विस्तार गर्न क्षेत्रीय संयोजकहरूलगायतका सबै पदमा सर्वसम्मत चयन भएको छ । अब प्राविधिक विषय टुंग्याएर सोमबार नयाँ कार्यसमितिको औपचारिक घोषणा गरिने बताइएको छ ।
यसरी चयन भएको नयाँ कार्यसमितिले एनआरएनएभित्रको गुटबन्दी अन्त्य गर्दै विश्वभर छरिएका नेपालीहरूलाई एउटै सूत्रमा बाँध्ने विश्वास गरिएको छ । महाधिवेशनको समापनसँगै डा। हेमराज शर्माको नेतृत्वमा आएको यो जम्बो टोलीले वैदेशिक रोजगारीमा रहेका नेपालीका समस्या समाधान, नेपालमा लगानी भित्र्याउने वातावरण सिर्जना र नेपाली नागरिकताको निरन्तरता जस्ता मुद्दाहरूमा ठोस काम गर्ने अपेक्षा गैरआवासीय नेपाली समुदायले गरेको छ । आपसी मनमुटाव त्यागेर सहमतिको बाटो रोज्नुले एनआरएनए पुनः एकपटक बलियो र साझा संस्थाको रूपमा स्थापित हुने आफूले विश्वास लिएको अभियन्ता सोम सापकोटाले बताए । एनआरएनएको १२औँ विश्वसम्मेलन शनिबार राजधानीमा सुरु भएको थियो भने नयाँ नेतृत्व चयनको औपचारीक घोषणसहित आज सकिनेछ । करिब ४ हजार ५ सय महाधिबेशन प्रतिनिधी रहेको एनआरएनएको १२ औ बिशेष महाधिबेशनमा १० प्रतिशतको भौतिक उपस्थिती रहेको छ । एनआरएनएको मेरुदण्ड मानिएको मध्यपुर्बमा भएको असामान्य परिस्थितीका कारण समित मात्रामा त्यहाँको भौतिक उपस्थिती देख्न सकिन्छ ।

