काठमाडौँ, २ चैत्र । करिब २ हप्ता देखी मध्यपुर्बमा जारी युद्धको बाछिटा नेपालमा पनि आइपुगेको छ । सोहि कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेपछि नेपाल आयल निगमले नेपालमा पनि इन्धनको मूल्य भारी वृद्धि गरेको छ। निगमले आइतबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ बढाएको हो।
निगम द्धवारा जारी बिज्ञप्ती अनुसार इण्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर ३१ रुपैयाँ र डिजेलमा ५४ रुपैयाँसम्म मूल्य बढाउनुपर्ने अवस्था थियो। तर उपभोक्ता र सार्वजनिक यातायात क्षेत्रमा पर्ने असरलाई ध्यानमा राख्दै मूल्य स्थिरीकरण कोष प्रयोग गरी सीमित मात्रामा मूल्य समायोजन गरिएको जनाएको छ। खाना पकाउने एलपी ग्यासको लागत प्रतिसिलिण्डर २१६ रुपैयाँले बढे पनि हाल यसको बिक्री मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ।
नयाँ मूल्यअनुसार काठमाडौँ, पोखरा र दिपायलजस्ता तेस्रो वर्गका क्षेत्रमा पेट्रोल प्रतिलिटर १७२ रुपैयाँ र डिजेल–मट्टितेल १५२ रुपैयाँ पुगेको छ। पहिलो वर्गका क्षेत्र विराटनगर, वीरगञ्ज र नेपालगञ्जमा पेट्रोल १६९।५० र डिजेल १४९।५० रुपैयाँ कायम गरिएको छ भने सुर्खेत र दाङ पर्ने दोस्रो वर्गमा पेट्रोल १७१ र डिजेल १५१ रुपैयाँ तोकिएको छ। निगमले हालको मूल्य समायोजनपछि पनि १५ दिनमा करिब तीन अर्ब ९३ करोड रुपैयाँ घाटा हुने अनुमान गरेको छ।

