तानसेन (पाल्पा), ७ जेठ । जङ्गली च्याउ खाँदा यहाँको रम्भा गाउँपालिका–५ फलकुनमा दुई जनाको मृत्यु भएको छ ।
जङ्गलबाट खोजेर ल्याएको च्याउ पकाएर खाएपछि फलकुनकी ६६ वर्षीया विनिमाया कामु मगर र सोही ठाउँकी ३५ वर्षीया बालकुमारी खाम्चाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए । जङ्गली च्याउ खाँदा पाल्पामा दुई जनाको मृत्यु
उनका अनुसार च्याउ खाएर बिरामी परेका उनीहरुको उपचारका क्रममा तानसेनस्थित मिसन अस्पतालमा मृत्यु भएको हो । “गत शुक्रबार नजिकैको जङ्गलबाट उनीहरूसहित तीन जनाले च्याउ ल्याएर खाएका रहेछ । शनिबार बिहानदेखि बान्ता र झाडापखला हुन थालेपछि उपचारका लागि अस्पताल पु-याइएको थियो”, प्रनाउ भट्टराईले भने, “उपचारका क्रममा विनिमायाको सोमबार र बालकुमारीको मङ्गलबार मृत्यु भएको हो ।” च्याउ खाई बिरामी भएकी ५० वर्षीया यममाया जर्घा मगरको भने उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । त्यसैगरी, जिल्लाको तानसेन, निस्दी र माथागढीमा पनि विषालु च्याउ खाएर १२ जना बिरामी परेका छन् । जिल्ला प्रहरीले उक्त विवरण आजै मात्र सार्वजनिक गरेको हो ।

