काठमाण्डौ,१५ असार । राष्ट्रपति विद्या भण्डारीले लेखा परीक्षण विधि र प्रक्रियालाई समृद्ध र सदृढ बनाउँदै लैजानुुपर्नेमा जोड दिएकी छिन । राष्ट्रपति भण्डारीले मुलुकमा सुशासन कायम गर्न महालेखा परीक्षकको कार्यालयले स्वतन्त्र, निष्पक्ष र विश्वसनीय ढंगले कार्य सम्पादन गर्दै आएको पनि उल्लेख गरिन । विहिबार काठमाडौंमा आयोजित महालेखा परीक्षकको कार्यालयको ५९ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले आर्थिक कारोबारको सवल र दूर्वल पक्षको विबेचना गरी अघि बढन पनि महालेखा परीक्षकको कार्यालय सफल हुने विश्वास व्यक्त गरिन । राष्ट्रपति भण्डारीले मुलुकमा सुशासन कायम गर्न र वित्तीय व्यवस्थापनको कामलाई चुस्त बनाउन संविधानले दिएको अधिकारलाई अधिकतम उपयोग गरेर अघि बढन पनि महालेखा परीक्षकको कार्यालयलाई सुझाव दिइन ।
राष्ट्रपति भण्डारीले दीगो विकास, स्वच्छ वातावरण, सार्वजनिक सेवा प्रवाहलाई ध्यानमा राखेर मात्रै लेखा परीक्षणको कामलाई विश्वसनीय बनाउन सकिने धारणा पनि राखिन ।कार्यक्रममा बोल्दै अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भ्रष्टाचार मुक्त समाज निर्माणका लागि सरकारले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले मुलुकको वित्तिय कारोबारलाई पारदर्शी र स्वच्छ बनाउन महालेखा परीक्षकको कार्यालयलाई सबै खालको सहयोग गर्ने पनि दोहो¥याए । अर्थमन्त्री कार्कीले आर्थिक प्रशासनको माध्यामबाट मुलुकलाई भ्रष्टाचार मुक्त बनाउन सरकारले आफ्नो तर्फबाट सक्दो प्रयास गर्दै आएको दावी पनि गरे ।
महालेखा परीक्षक टंकमणि शर्मा दंगालले स्थानीय निकाय लामो समयसम्म जनप्रतिनिधिविहिन हुँदा मुलुकमा बेरुजु बढन गएको उल्लेख गरे । उनले लेखा प्रणालीलाई नियमित, मितव्ययी, प्रभावकारी, दक्षतापूर्वक औचित्यका आधारमा अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गरे । महालेखा परीक्षक दंगालले अव स्थानीय तहमा पनि जनप्रतिनिधिहरु बहाल हुन सुरु गरेकाले बेरुजु घटदै जाने र लेखा प्रणाली पारदर्शी हुँदै जाने उल्लेख गरे ।
महालेखा परीक्षकको ५८ औं वार्षिक प्रतिवेदनमा ८९ अरब बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले बेरुजु बढदै जानुमा राजनीतिक प्रशासनको हस्तक्षेप, संस्थागत व्यवस्थापनमा कमी र स्थानीय निकायमा लामो समयसम्म जनप्रतिनिधिहरु नहुनु जिम्मेवार रहेको पनि औंल्याएको छ । महालेखा परीक्षकको कार्यालय मुलुकको लेखा परीक्षण गर्ने सबैभन्दा ठूलो संवैधानिक निकाय हो ।