प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि नामावली संकलन साउन ३२ गतेसम्म सञ्चालन हुने

arjun Photo Gallery , ८ वर्ष अगाडि

काठमाण्डौ,३ साउन । आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता कार्यक्रम यही साउन १६ देखि ३२ गतेसम्म स्थानीय तहमा सञ्चालन हुने भएको छ । आयोगको आजको बैठकले यही साउन १६ देखि ३२ गतेसम्म मुलुकका ६६९ स्थानीय तह तथा ७५ वटै जिल्ला सदरमुकामस्थित जिल्ला निर्वाचन कार्यालय र क्षेत्रीय निर्वाचन कार्यालयबाट त्यस्तो मतदाता नामावली दर्ता गराउन सक्ने व्यवस्था गरेको हो । आयोगको पछिल्लो निर्णयअनुसार ७५ वटै जिल्ला सदरमुकामस्थित स्थानीय तहका मतदाताले भने सम्बन्धित जिल्ला निर्वाचन कार्यालयबाट सो सेवा प्राप्त गर्न सक्नेछन् ।
बाह्य जिल्लामा फोटोसहितको मतदाता नामावली दर्ता र जिल्ला निर्वाचन कार्यालयमा नामावली दर्ता आगामी निर्वाचनको मिति घोषणा नभएसम्म निरन्तर सञ्चालन हुनेछन् भने स्थानीय तहमा भने यही साउन ३२ गतेसम्म मात्र सञ्चालन हुनेछ । रोजगारी वा पढाइका सिलसिलामा आफू रहेको जिल्ला निर्वाचन कार्यालयबाट स्थायी ठेगानामा रहने गरी मतदाता नामावली दर्ता गराउन सक्ने व्यवस्था गरिएको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । हाल जिल्ला निर्वाचन कार्यालयबाट मात्र फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्ने व्यवस्था रहेको छ ।