रमेश विकल वाङ्मय पुरस्कार प्रा डा चुडामणि बन्धुलाई

NewsBankNepal News/समाचार , Others/अन्य , साहित्य , २ वर्ष अगाडि

काठमाडाैं । यस वर्षको रमेश विकल वाङ्मय पुरस्कार भाषा विज्ञानको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनुभएका प्रा डा चुडामणि बन्धुलाई दिइएको छ ।

रमेश विकल साहित्य प्रतिष्ठानले आज आरुबारीमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ पत्रकार भैरव रिसालले रु ५० हजार राशिको पुरस्कार बन्धुलाई हस्तान्तरण गर्नुभएको हो । उहाँलाई नगदसहित सम्मानपत्र र दोसल्लाले पुरस्कृत गरिएको थियो । यसैगरी जनस्वास्थ्य क्षेत्रमा विशिष्ट योगदान दिनुभएका डा रविन्द्र समीरलाई रमेश विकल सुशीला समाजसेवा पुरस्कार प्रदान गरिएको छ ।

पुरस्कारको राशि रु १५ हजार नगद, सम्मानपत्र र दोसल्ला रहेको छ । यस वर्षको रमेश विकल सृजना पुरस्कार साहित्यकार विमल निभालाई दिइएको छ । यो पुरस्कार साहित्यकार आनन्ददेव भट्टले स्थापना गर्नुभएको हो । रमेश विकल बाल साहित्य पुरस्कार कार्तिकेय घिमिरेलाई प्रदान गरिएको छ ।

पुरस्कारको स्थापना गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ ले गर्नुभएको हो । विकल–सुशीला सङ्घर्षशील नारी पुरस्कार लक्ष्मी प्रतिष्ठान काठमाडौँलाई दिइएको छ । पारिवारिक स्रोतबाट विष्णु गौतम र लक्ष्मी गौतमले स्थापना गरेको सो प्रतिष्ठानले सवारी सचेतनामासमेत उदाहरणीय काम गरेको कार्यक्रममा जानकारी गराइएको छ ।

पुरस्कारको स्थापना विकलकी छोरी अम्बिका चालिसे पोखरेलले गर्नुभएको हो । विकल कला सङ्गीत पुरस्कार कलाकार पूर्णप्रसाद ह्येजुलाई दिइएको छ । पुरस्कारको स्थापना प्रतिष्ठानका वरिष्ठ सदस्य रामप्रसाद पौडेलले गर्नुभएको हो । यी तीनवटै पुरस्कारको राशि रु १५ हजार नगद, सम्मान पत्र र दोसल्ला रहेको छ ।

आख्यानकार रमेश विकलका बारेमा शोध गर्नेलाई प्रदान गरिने चन्द्रशेखर रमेश विकल शोध सम्मान तीन जनालाई दिइएको छ । नेपाल संस्कृत विश्वविद्यालयबाट ‘रमेश विकलका कथामा नीति चेतना’ विषयमा विद्यावारिधि गर्नुभएकी डा देवकी आचार्यलाई रु ५० हजार राशिको शोध सम्मान हस्तान्तरण गरिएको छ । यसैगरी दर्शनाचार्यमा रमेश विकलको साहित्यका विषयमा शोध गर्नुहुने योगेश काफ्ले र शान्ति न्यौपाने रिसाललाई रु १०÷१० हजार राशिको शोध सम्मान प्रदान गरिएको छ ।

कार्यक्रममा वरिष्ठ पत्रकार रिसालले विकलसँग लामो समय सङ्गत गर्दा पनि उहाँको बहुमुखी प्रतिभा जान्न नसकिएको उल्लेख गर्नुहुँदै सधैँ आफूहरूले सामान्य मानिसका रूपमा लिएको बताउनुभयो । वाग्मती प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले साहित्यिक क्षेत्रले अब नव निर्माणलाई प्रोत्साहन हुने गरी साहित्य सृजना गर्ने समय भएको बताउनुभयो । गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेले बाल्यकालदेखि नै आफूहरूलाई साहित्यकार विकलले सृजनात्मक काममा लगाउनुभएको स्मरण गर्नुभयो ।

साहित्य, चित्रकला, अभिनय, वाद्यवादलगायत धेरै विधा उहाँले सिकाएको पनि उहाँले सुनाउनुभयो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले चित्र र मूर्ति पनि बनाउने विकलको प्रतिभा उहाँको निधनपछिमात्र उजागर भएको सुनाउनुभयो । उहाँको निधनपछि विसं २०७० फागुन २५ गतेदेखि उहाँको चित्रकला प्रदर्शनीमा राखिएको थियो ।

कार्यक्रममा वरिष्ठ पत्रकार एवं विकलका पुत्र विजय चालिसे, प्रतिष्ठानका उपाध्यक्ष प्रा डा हेमनाथ पौडेल, पुरस्कृत व्यक्तित्व बन्धु, प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरे र वरिष्ठ सदस्य रामप्रसाद पौडेललगायतले उहाँको व्यक्तित्व र कृतित्वका बारेमा प्रकाश पार्नुभएको थियो । सामाजिक यथार्थवादी आख्यानकार विकलको जन्म विसं १९८५ कात्तिक २९ गते भाइटीकाका दिन भएको थियो । विसं २००६ मा शारदा मासिकमा गरिब कथा प्रकाशनपछि उहाँ नेपाली आख्यान क्षेत्रमा प्रवेश गर्नुभएको हो ।

साहित्यकार विकलले ‘नयाँ सडकको गीत’ कथा सङ्ग्रहका लागि २०१९ सालको मदन पुरस्कार प्राप्त गर्नुभएको थियो । साहित्यकार विकलले आफ्नो जीवनकालमै प्रतिष्ठानको स्थापना गर्नुभएको हो । छोराहरू विजय चालिसे र महेन्द्र चालिसेको प्रस्ताव पाँच आना जग्गामा बनेको पुख्र्यौली घर प्रतिष्ठानका लागि दान दिइएको छ । विसं २०६५ पुस २ गते विकलको निधन भएको थियो । निधनपछि प्रत्येक वर्ष पुसको पहिलो शनिबार उहाँको स्मृतिमा कार्यक्रम गर्ने गरिएको छ ।