काठमाडाैं । आज पृथ्वीजयन्ती एवम् राष्ट्रिय एकता दिवस मनाइँदैछ । हरेक वर्ष पुस २७ गते पृथ्वीनारायण शाहको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ ।
लोकतन्त्रपछि सरकारले औपचारिक रुपमा पृथ्वीजयन्ती मनाउन छाडे पनि अनौपचारिक रुपमा विभिन्न कार्यक्रम हुँदै आएका छन् । आज नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानको आयोजनामा काठमाण्डौको कमलादीबाट सांस्कृतिक झाँकी एवम् बाजागाजासहित सिंहदरबार पश्चिम मूलढोकामा रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ ।
दिउँसो राष्ट्रिय नाचघर जमलमा नेपालका विभिन्न सांस्कृतिक झलकको प्रस्तुति गर्ने तयारी छ ।
तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहको नेतृत्वमा तराई, पहाड र हिमालका नागरिकले नेपाल राष्ट्रको भौगोलिक र भावनात्मक एकीकरणमा ठूलो योगदान गरेको राष्ट्रपतिले स्मरण गरेकी छिन् ।
पृथ्वी जयन्तीको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले शुभकामना व्यक्त गरी जनचाहना र प्रगतिसँग सरोकार नराख्ने प्रजातन्त्रको कुनै लक्ष्य हुन नसक्ने बताएका छन् ।
यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका विभिन्न दल र नेताले पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक बिदा दिन सरकारसँग माग गर्दै आए पनि बिदा दिइएन।