नेपालले जित्यो यू–१५ महिला साफ च्याम्पियनशिप फुटबलको उपाधि

NewsBankNepal Banner Headline with Image , Latest Update , Sports/खेलकुद , १ वर्ष अगाडि

ढाका। बङ्गलादेशमा आयोजना भएको यू–१५ महिला साफ च्याम्पियनशिप फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ । बङ्गलादेशको ढाकामा आज भएको डबल राउन्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले बङ्गलादेशसँग १–१ गोलको बराबरी खेल्दै च्याम्पियन बनेको हो ।   खेलमा सुरुआती अग्रता नेपालले बनाएको थियो ।

खेलको १४औँ मिनेटमा सुशिला केसीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । तर खेलको ५४औँ मिनेटमा बङ्गलादेशकी खेलाडी रुमाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याइन् ।   त्यसपछि खेलको ८९औँ मिनेटमा बङ्गलादेशले पेनाल्टी प्राप्त गरेको थियो । तर बङ्गलादेशकी बिबी रीताको पेनाल्टी प्रहार नेपालकी गोलकिपर सुजाता तामाङले उत्कृष्ट बचाउ गरिन् ।

त्यसपछि थप गोल भएन र खेल बराबरीमा सकिँदा नेपाल च्याम्पियन बनेको हो । नेपाल शीर्षस्थानमा रहँदै उपाधि उचाल्न सफल भयो ।   त्यस्तै यस बराबरीसँगै नेपालले चार खेलमा अपराजित रहँदै १० अङ्क जोड्यो । समान चार खेल खेलेको बङ्गलादेशले सात अङ्क जोडेर उपविजेता बन्यो । भूटान अङ्कविहीन रहँदै घर फर्कियो । प्रतियोगितामा नेपाल, भूटान र बङ्गलादेशको सहभागिता रहेको थियो ।