माया लुहारको हत्या आरोपित सशस्त्र प्रहरी जवान महेन्द्रनगरबाट पक्राउ

NewsBankNepal News/समाचार , २ महिना अगाडि

बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारको हत्यामा संलग्न भएको आरोप लागेका सशस्त्र प्रहरी जवान भरतराम कोली कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ परेका छन् । कोली आज महेन्द्रनगरस्थित बसपार्क क्षेत्रबाट पक्राउ परेका हुन् ।

प्रहरी निरीक्षक भरत गिरीका अनुसार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले हत्यामा संलग्न रहेको आरोप लागेका बैतडीको शिवनाथ गाउँपालिका–४ घर भएका सशस्त्र प्रहरी जवान कोलीलाई पक्राउ गरेको हो ।

बिदामा घर आएका बखत मायाको हत्या गरेको कोलीमाथि आरोप छ । मायाका परिवारजनले कोलीविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएपछि उनको खोजी भइरहेको थियो । यही मङ्सिर १३ गते मायाको बैतडीमा घाँटी रेटेर हत्या गरिएको थियो । मायाको साथमा रहेकी नेहा लुहारको समेत घाँटी रेटेर हत्याको प्रयास गरिएको थियो ।

घाइते अवस्थामा भेटिएकी नेहाको हाल उपचार भइरहेको छ । बैतडीको शिवनाथ गाउँपालिका–६ स्थित शिवनाथ मन्दिर नजिकै मायाको शव फेला परेको थियो भने नेहा घाइते अवस्थामा भेटिएकी थिइन् । कास्कीको पोखरास्थित हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालयमा कार्यरत कोली बिदामा घर आएका बेला उक्त घटना घटेको हो ।

घटना लगत्तै कोली गाउँबाट फरार रहेपछि हत्यामा उनको संलग्नता रहेको आशंका गरिएको थियो । प्रहरी श्रोतका अनुसार प्रारम्भिक बयानमा कोलीले मायाको हत्या गरेको स्विकार गरेका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीमा मुद्दा चलिरहेकाले कोलीलाई आजै बैतडी पठाउने तयारी गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।