नेपालगञ्जमा अत्यधिक गर्मीबाट बालबालिका बिरामी पर्न थाले

NewsBankNepal Latest Update , News/समाचार , १ वर्ष अगाडि

नेपालगञ्जमा अत्यधिक गर्मी बढेपछि बालबालिका बिरामी पर्न थालेका छन् । भेरी अस्पतालका बालरोग विशेषज्ञ डा प्रतिमा खड्का हमालका अनुसार मौसमी रुघाखोकी र भाइरल फ्लुबाट बालबालिका प्रभावित बनेका छन् ।

उहाँले अस्पतालको ‘ओपिडी’मा दैनिक ५० भन्दा माथिको सङ्ख्यामा बिरामी बालबालिका उपचारका लागि आउने गरेको बताउनुभयो । ती मध्ये चारदेखि पाँच बिरामी बालबालिका भर्ना हुने गरेका छन् । विशेष गरेर बालबालिकामा ज्वरो, रुघाखोकी, झाडापखाला, पेट दुख्ने समस्या देखिएको बालरोग विशेषज्ञ डा प्रतिमाको भनाइ छ ।

उहाँले यस मौसमी रुघाखोकी र भाइरल फ्लुबाट जोगिन बालबालिकालाई अनिवार्य माक्सको प्रयोग गर्नुपर्ने, खाना खानुभन्दा अघि राम्री साबुनपानीले हात धोएर मात्र खाना खान सुझाव दिनुभयो । मौसमी फ्लुबाट प्रभावित भएका बालबालिकालाई निको हुन सामान्यता चारदेखि पाँच दिन लाग्ने उहाँको भनाइ छ ।

अत्यधिक गर्मीका कारण बढेको मौसमी फ्लुबाट जोगिन घरकै खाना खाने, पानी धेरै पिउने, सफा खाने कुरा मात्र खाने, घाममा नबस्ने र धेरै हिँडडुुल नगर्ने सुझाब दिनुभयो । त्यस्तै केयर सिटी अस्पताल नेपालगञ्जका बाल रोग विशेषज्ञ डा विष्णुकुमार थापाका अनुसार उपचारका लागि प्रत्येक दिन सातदेखि आठ जना मौसमी रुघाखोकी र भाइरल फ्लु भएका बालबालिका आउने गरेका छन् । उहाँले मौसमी रुघाखोकी र भाइरल फ्लुबाट जोगिन बालबालिकालाई माक्सको प्रयोग अनिवार्य गर्नुपर्ने, खाना खानुभन्दा राम्री साबुनपानीले हात धुने, सुईको प्रयोग गर्ने बताउनुभयो ।

बालबालिकालाई बिरामीबाट जोगाउन विद्यालय बन्दले पनि सहयोग पुग्ने उहाँको भनाइ छ । नेपलागञ्ज कान्ति ओरोग्य अस्पतालका बाल रोग विशेषज्ञ डा रोमा बोराले दैनिक १५ देखि २० जना बिरामी बालबालिका उपचारका लागि आउने गरेको बताउनुभयो । उहाँका अनुसार धेरैजसो बच्चामा ज्वरो, रुघाखोकीको समस्या देखिएको छ ।

खासगरी तीनदेखि आठ वर्षसम्मका बालबालिका बिरामी भएको उहाँकोे भनाइ छ । सङ्क्रमणबाट बच्नका लागि बालबालिकालाई सकेसम्म माक्स लगाइदिने, हाँच्छु गर्दा कुहिनाले छापेर गर्न लगाउने, झोलिलो कुरा खुवाउने, घरभित्रै बच्चालाई राख्ने बालरोग विशेषज्ञ डा बेराले सुझाव दिनुभयो । अत्यधिक गर्मी बढेपछि बाँकेका अधिकांश विद्यालय बन्द छन् ।