जापानलाई हराउँदै नेपाल महिला टी–२० सिरिजमा तेस्रो

NewsBankNepal Sports/खेलकुद , ८ महिना अगाडि

काठमाडौँ, ३ मङ्सिर । चार देश सम्मिलित महिला टि–२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ । आज भएको खेलमा नेपाल जापानलाई ४५ रनले हराउँदै तेस्रो भएको हो ।

हङकङमा जारी प्रतियोगितामा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा एक सय १५ रन बनाएको थियो । नेपालका लागि पूजा महतोले ४३, रोमा थापाले २२, रुविना क्षेत्रीले २१ तथा कप्तान इन्दू बर्माले १२ रन बनाइन् । बलिङतर्फ जापानकी अहिल्या चण्डेल, एरिका टोगुची क्युइनले एक एक विकेट लिइन् ।

एक सय १६ रनको विजयी लक्ष्य पछ्याएको जापानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७० रन बनायो । जापानका लागि अकरी निशीमुराले २९, हिनासे गोटोले १६ र अहिल्या चण्डेलले ११ रन बनाइन् । बलिङतर्फ नेपालकी सङ्गिता राई, इन्दू बर्मा, सीता राना मगर, खुशी डङ्गोल र सोनी पाख्रिनले एक एक विकेट लिइन् । महिला टि–२० सिरिजमा आयोजक हङ्कङसँगै नेपाल, तान्जानिया र जापान सहभागी भएका थिए ।